• १३ साउन २०८१, आइतबार

अब ‘चियर्स’ होइन, ‘आयला’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ८ गते ।  सभा, समारोह, उत्सव र समूहमा खानपिन गर्दा सुरुमै भनिने ‘चियर्स’ अङ्ग्रेजी शब्द हो । ‘चियर्स’को सट्टा कुनै नेपाली शब्द प्रयोग गर्न सके त्यसले नेपाली संस्कृति, मौलिकपन र नेपालीपन दिनसक्छ । नेपाली सेलिब्रेटी सेफ सन्तोष साहले यो शब्द ‘आयला’ हुनुपर्ने बताउनुभएको छ । “अङ्ग्रेजी शब्द ‘चियर्स’को साटो नेवारी संस्कृतिमा सगुनको रुपमा प्रदान गरिने ‘आयला’ शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने, पर्यटकलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवद्र्धन हुन्छ,” उहाँको भनाइ छ । उहाँले ‘आयला’ सम्बन्धित सन्देशमूलक प्रचारात्मक भिडियोसमेत सार्वजनिक गर्नुभएको छ । बीबीसी मास्टर सेफ सन्तोष साहसहित चर्चित विदेशी सेफको टोली अहिले नेपालमा मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिरहेको छ । टोली चैत २७ गते काठमाडौँ आएको हो । यो टोलीले १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा संलग्न भएको थियो । 

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा ‘बीबीसी मास्टर सेफ :द प्रोफेसनल  २०२०’ का फाइनालिस्टको टोली नेपाल आएको हो । नेपालको मौलिक संस्कृति र खानामार्फत नेपाललाई गन्तव्यका रूपमा प्रचारप्रसार गर्नु यो अभियानको उद्देश्य हो ।  पाटा नेपालद्वारा आयोजित ‘मास्टरसेफ फाइनालिस्ट टुर टु नेपाल’मा चर्चित सेलिब्रेटी सेफ सहभागी छन् । उनीहरूले नेपालको पहिचान झल्काउने पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिक खानाको अवलोकन, अन्वेषण एवं प्रवद्र्धन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मास्टर सेफको नेपाल भ्रमण तथा गतिविधिबाट विश्वमा नेपालको मौलिक खाना र संस्कृतिको प्रचारप्रसार हुनेछ र नेपाली पर्यटन क्षेत्र पूर्ण खुला र जीवन्त रहेको सकारात्मक सन्देश प्रवाह हुनेछ ।