• १३ साउन २०८१, आइतबार

राप्रपाको चुनावी प्रतिबद्धता सार्वजनिक

blog

चुनावी घोषणा–पत्र सार्वजनिक कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै (राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं, वैशाख ७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रतिबद्धता पत्र बुधबार सार्वजनिक गरेको छ।

काठमाडौंमा आयोजित निर्वाचन प्रतिबद्धता (घोषणापत्र) सार्वजनिक समारोहमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको गौरवपूर्ण इतिहास, धर्म, संस्कृतिको संरक्षण एवम् राष्ट्रिय राजनीतिको विकल्पसहितको घोषणापत्र राप्रपाले सार्वजनिक गरेको हो। 

भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति र सबै वर्ग, क्षेत्रमा सुशासनको लक्ष्यसहित चुनाव जितेको छ महिनासम्ममा विपन्न परिवारको पहिचान गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। 

यसैगरी, कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास शिक्षा, वर्ग तथा अल्पसंख्यक समुदायका साथै स्थानीय तहमा मातृभाषा शिक्षा, सबै नागरिकलाई निःशुल्क अनिवार्य बीमा र सुरक्षित बाल स्वास्थ्यको विषय राप्रपाको घोषणापत्रमा उल्लेख छ। 

उत्पादनलाई प्राथमिकतामा राखेर किसानको खेत–खेतमा बिजुली, बालीनाली क्षति भएमा कृषि तथा बाली बीमाको व्यवस्था, चार वर्षभित्र आधारभूत खानेपानीको सुरक्षा, एक घर, एक धारा जस्ता विषय राप्रपाको चुनावी प्रतिबद्धतामा उल्लेख छ। 

यससँगै जातीय छुवाछूतको पूर्णरुपमा अन्त्य, ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक निःशुल्क आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था, भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित समुदायको जीवनस्तर सहज बनाउन बत्ती, खानेपानी, ढल आदिको व्यवस्था गर्नेलगायतका प्रतिबद्धता राप्रपाले व्यक्त गरेको छ।