• १९ असार २०८१, बुधबार

कास्की काँग्रेस कार्यालयमा महानगर समितिद्वारा तालाबन्दी

blog

सन्तोष सुवेदी

कास्की, वैशाख ७ गते । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमतिपछि नेपाली काँग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । काँग्रेसको पोखरा महानगर समितिले बुधबार जिल्ला कार्यालय, चिप्लेढुङ्गामा ताला लगाएको हो ।

महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उहाँहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताउनुभएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव  गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ । हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले काँग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’’

सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको सचिव थापाले बताउनुभयो । ‘आगामी दिनमा अपनाइने सङ्घर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्यसमितिलाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।