• १६ भदौ २०८१, आइतबार

कोहलपुरको मेयरमा माओवादीले बनायो नरेन्द्र न्यौपानेलाई उम्मेदवार

blog

माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको मेयरका उम्मेदवार न्यौपाने । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, वैशाख ७ गते । नेपाली काँग्रेसले नेपालगञ्ज र कोहलपुरमा कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि बाँकेमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना लगभग समाप्त हुँदै गएको छ । नेपालगञ्ज र कोहलपुरमा काँग्रेसको अडान, नेपालगञ्जमा जनता समाजवादी पार्टीको अडान र कोहलपुरमा माओवादी केन्द्रको अडानले गठबन्धन नहुने सम्भावना बढेको हो । 

काँग्रेसको अडानपछि जनता समाजवादी पार्टीले नेपालगञ्जलगायतका चार पालिकामा एक्लै निर्वाचन लड्ने निर्णय गरेर प्रचारप्रसारमा होमिएको बेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले पनि आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । 

काँग्रेसको अडानका कारण कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरिएको नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष अवराज खड्काले बताउनुभयो ।उहाँ यसअघि पनि स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएको थियो । 

माओवादीले कोहलपुरमा मेयरमा नरेन्द्र न्यौपानेसहित १३ जना वडा अध्यक्षको समेत टुङ्गो लगाएको खड्काले जनाउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नं १ मा बद्रीप्रसाद जैसि, वडा नं २ मा अमर बिक, वडा नं ३ मा केशव रिजाल, कोहलपुर ५ मा कृष्ण थारु, कोहलपुर ६ मा रामशरण थारु, कोहलपुर ७ मा तेजबहादुर पुन, कोहलपुर ८ मा चन्द्र बुढा, कोहलपुर ९ मा ओपेन्द्रनाथ योगी, कोहलपुर १० मा कैलो बोहरा कुशल, कोहलपुर १२ मा निरक शाही, कोहलपुर १३ मा मिना पुन, कोहलपुर १४ मा दानबहादुर वली र कोहलपुर १५ मा राधेश्याम थारुलाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको छ । 

कोहलपुर ४ र ११ मा आकाङ्क्षीको सङ्ख्या एकभन्दा बढी भएकाले सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । उपमेयर पदमा समेत एकभन्दा बढी आकाङ्क्षी रहेकाले सो पदमा पनि सर्वसम्मतको प्रयास भइरहेको नेकपा (माओवादी केन्द्र), कोहलपुरले जनाएको छ ।

कोहलपुरको उपमेयरमा रेणुका खड्का, साबित्रा पुन, विष्णु चौधरी, कौशिल्या खड्का र अवराज खड्काको दावेदारी छ ।


Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।