• ४ जेठ २०८१, शुक्रबार

काठमाडौंमा सात सय ५९ केन्द्रमा मतदान हुने

blog

काठमाडौं, वैशाख ७ गते । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन कार्य सम्पन्न गर्न निर्वाचन आयोग तथा देशैभरका जिल्ला निर्वाचन कार्यालयको तयारी तीव्र अगाडि बढेको छ ।

काठमाडौं जिल्लामा एक महानगरपालिका र दश वटा नगरपालिकामा स्थानीय निर्वाचन हुँदैछ । काठमाडौं महानगरपालिका, कीर्तिपुर,  दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन,  तार्केश्वर, टोखा, बूढानीलकण्ठ, शङ्खरापुर नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका र गोकर्णेश्वर, ११ पालिका छन् । काठमाडौं जिल्लामा काठमाडाैं महानगरपालिकामा ३२ वटा वडा र अन्य नगरपालिकाहरुसहित १३८ वडा छन् ।

चन्द्रगिरि नगरपालिका अन्तर्गत १५ वडा, बुढानिलकण्ठ नगरपालिका अन्तर्गत १३ वटा, टोखा र तार्केश्वरमा ११ वटा र कीर्तिपुर र नागार्जुन नगरपालिकामा दश वटा वडाहरू छन् । यस्तै, शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर र दक्षिणकाली नगरपालिका अन्तर्गत नौ वटा वडा छन् । 

काठमाडौंका ७५९ मतदान केन्द्रबाट मतदान प्रक्रिया हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुर शर्माले बताउनुभयो ।

मतदाताको सङ्ख्याको आधारमा, बाकस र कम्प्युटरमा विवरणको व्यवस्थापन गर्नुपर्ने हुँदा, ‘क’, ‘ख’, ‘ग’, ‘घ’ गरी मतदान केन्द्र रहने उहाँ बताउनुहुन्छ । काठमाडौंमा जम्मा छ लाख ३७ हजार ७७५ मतदाता छन् ।

राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलसहित राष्ट्रिय मान्यता नपाएका ४० गरी जम्मा ४६ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिँदैछन् । राष्ट्रिय मान्यता प्राप्त गरेका दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी हुन् ।

यसबाहेक स्वतन्त्र उम्मेदवार पनि छन्, तर यसको अहिले नै यकिन भइनसकेको शर्माको भनाइ छ । ११ वटै पालिकामा निर्वाचन अधिकृत तोकिसकेको र आवश्यक तालिम पनि भइसकेका कारण उहाँहरु निर्वाचनको तयारीमा लागिसक्नुभएकाे छ ।

यससँगै सहायक कर्मचारीको टिम निर्माण गर्ने, कार्यालय स्थापना गर्ने कार्य अहिले जारी छ । काठमाडौं महानगरपालिकाले भने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा वैशाख ८ गते बिहान १० बजे कार्यालयको उद्घाटन गर्ने जानकारी उहाँले दिनुभयो । मुख्य निर्वाचन अधिकृतसहित काठमाडौंमा दश देखि १२ जनाको समन्वय, सम्पर्क तथा सञ्चारका लागि टिम निर्माण हुनेछ ।

एक मतदान केन्द्रमा एक निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत गरी दुई जना र बाँकी दश प्रतिशत अतिरिक्त जनशक्ति पनि खटिने जनाइएको छ । सुरक्षा मापदण्डका विषयमा काठमाडौंमा समस्याग्रस्त मतदान केन्द्र कुनै पनि नभएको र थप स्वयंसेवक खटाएर मतदान सम्बन्धमा दुई दिन तालिम पनि गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

'सङ्घीयताको सफल कार्यान्वयनको पाँच वर्षपछि निर्वाचन हुँदैछ, सबै तयारी चुस्त र दुरुस्तरुपमा अघि बढेको छ,' शर्माले बताउनुभयाे ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।