• २२ वैशाख २०८१, शनिबार

आवश्यकता र प्राथमिकता हेरेर काम गरिरहेका छौँ

blog

देवबहादुर खाण प्रमुख, चापाकोट नगरपालिका

कालीगण्डकी नदीको तटमा रहेको स्याङ्जाको चापाकोट नगरपालिकाले पहाडी क्षेत्र मात्र नभई तराई जस्तै समथर भूभाग पनि ओगटेको छ । साबिकको चापाकोट, कुवाकोट, रत्नपुर, सेखाम र साँखर गाविसका पूरै वडा तथा पकवादी मल्याङ्कोट गाविसका एक/एक वडा मिलाएर चापाकोट नगरपालिका बनेको हो । शालिग्राम पाइने कालीगण्डकी नदी पालिकाको दक्षिणी बाटो भएर बग्दछ, उत्तरतर्फ ज्याग्दी खोलाले यहाँको स्वरूप नै राम्रो बनाइदिएको छ । सांस्कृतिक र पर्यटनको प्रचुर सम्भावना रहेको यस नगरपालिकाका प्रमुख देवबहादुर खाणसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानीको अंश :

यहाँ निर्वाचित हुनुभएको दुई वर्ष हुनै लाग्यो, यो अवधिमा देखिने खालका के के काम गर्नुभयो ?

हामी निर्वाचित भएपछि कृषि, पशुपालन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य सेवालगायतका काममा विशेष ध्यान दिँदै आएका छौँ । कच्ची सडकलाई व्यवस्थित गर्ने, सम्भव भएका सडकलाई कालोपत्रे गरी गाउँ गाउँमा सहज र नियमित रूपमा सवारीसाधन चल्ने बनाउन पालिका लागिरहेको छ । वैदेशिक रोजगारीमा जान चाहने नागरिकका लागि स्थानीय तहबाट नै श्रम स्वीकृत अनलाइन सेवा कार्यको थालनी भएको छ । गाउँमा नै पुगेर योजना सम्झौता गर्ने गरेका छौँ, जसका कारण समयमा नै गुणस्तरीय काम हुने गरेको छ । यस्तै स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुर्‍याउन वडा तहमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ । कृषि र पशुपालनप्रति आकर्षण बढाउन उत्पादनपछिको कृषक अनुदान प्रोत्साहन कार्यक्रम योजना नै निर्माण गरेर काम गरिरहेका छौँ । कृषि प्राविधिकलाई खेतमा नै पुग्ने व्यवस्था मिलाएका छौँ । पालिकाले गर्नुपर्ने नियमित योजनाका काम प्रभावकारी रूपमा गर्दै आएका छौँ । पालिकालाई आत्मनिर्भर बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढेका छौँ । 

यो पालिका त पर्यटकीय दृष्टिले निकै सम्भावनायुक्त भएको ठाउँ हो । पर्यटन प्रवर्धनका लागि पालिकाले के कस्ता काम गरिरहेको छ ?

चापाकोटमा प्रशस्त पर्यटकीय क्षेत्र छन् । नगरपालिकाभित्र रहेका महत्वपूर्ण पर्यटकीय स्थलमा उत्तरगङ्गा कालीगण्डकी धाम, केलाधी धाम, सेखामको रामडाँडा, शीतलपार्क, बायडाँडा भ्यु प्वाइन्ट, मणिमुकुन्देश्वर गुरुकुललगायत रहेका छन् । हामीसँग उपलब्ध सीमित स्रोतसाधनमार्फत नगरभित्र रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलको स्तरोन्‍नति गर्ने र त्यस्ता स्थानसम्म जानका लागि सहज पहुँचमार्गको निर्माण गर्दै छौँ । सार्वजनिक सञ्चार माध्यमबाट तिनको प्रचारप्रसार गरी पर्यटनको आगमन बढाउने अभियानमा जुटेका छौँ । तराई जस्तो समथर र अग्ला पहाड मिलेर चापाकोट नगरपालिका बनेकाले यहाँ पर्यटनको राम्रो सम्भावना छ । पर्यटन क्षेत्रलाई हामीले यहाँको आर्थिक विकासका लागि भरपर्दो स्रोतका रूपमा विकास गर्ने योजना अघि बढाएका छौँ । 

यहाँको कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास र सुधारमा के कस्ता काम अगाडि बढाइएका छन् ?

नगरपालिकामा सीमित स्रोतसाधन भएकाले नागरिकका सबै माग पूरा गर्न र चित्त बुझाउन गाह्रो छ । यद्यपि सबै मागलाई क्रमागत हिसाबले सम्बाधेन गर्न प्राथमिकताका आधारमा हामीले काम गरिरहेका छौँ । पालिकामा तराई जस्तै समथर क्षेत्र प्रशस्त भएकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ । खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषकलाई आत्मनिर्भर बनाउनेतर्फ हाम्रो ध्यान गएको छ । पछिल्लो समय आएका उपयुक्त सिप, ज्ञान र प्रविधि कृषकलाई प्रदान गर्ने, विदेशबाट फर्किएकालाई स्वदेशमा नै कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने, उनीहरूलाई उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने काम गरिरहेका छौँ । नागरिकलाई उत्पादनमा जोड्न तल्लो भेगमा आँप, लिची र आलु खेती सुरु गरिएको छ । पालिकाले वार्षिक रूपमा कृषि तथा पशु क्षेत्रमा उपयुक्त रकम लगानी गर्नुका साथै कृषकलक्षित कार्यक्रम तथा तालिम सञ्चालनमा ल्याइएको छ । मौरीपालनसम्बन्धी एकमहिने तालिम दिई उक्त तालिमपश्चात् ५० प्रतिशत अनुदानमा करिब दुई सय मौरीसहितको घार वितरण गरिएका छौँ । कृषिसँग सम्बन्धित यान्त्रिक मेसिनरी औजार हाते ट्याक्टर, मिल, प्लास्टिक टनेल, आलु, धान र मकैको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरिएका छन् । त्यसका साथै सङ्घ र प्रदेश सरकारको सहकार्यमा ३० हजार आँप र लिचीका बिरुवा निःशुल्क र ७५ प्रतिशत अनुदानमा करिब सात सय क्विन्टल आलु वितरण गरेका छौँ । आँप र लिची खेतीको पकेट क्षेत्रका रूपमा काम गर्न सुरु गरेका छौँ । जसमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको छ । यसबाट यहाँका नागरिकलाई राम्रो उत्पादन हुने छ भने पालिकाले उनीहरूलाई यसप्रति आकर्षण गर्दै आएको छ । 

चापाकोट नगरपालिका–८ मा निर्माणाधीन रहेको चिस्यान केन्द्रलाई प्रदेश सरकारसँगको समन्वयमा छिटो सक्ने गरी कार्य अगाडि बढाइएको छ । कृषकका गोठमा नै पालिकाका कर्मचारी पुग्ने गरेका छन् । गत साल मात्रै १२ हजार पशुमा पिपिआर भ्याक्सिन लगाइएको छ  । यस पटक पनि यो कार्यक्रम निरन्तर छ । स्वास्थ्य क्षेत्रको विषयमा नगरपालिकाले नियमित रूपमा प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । निःशुल्क पाठेघरको मुखको क्यान्सरलगायतका स्वास्थ्य शिविर सञ्चालन गरिएका छन् । सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । ‘एक स्थानीय तह एक अस्पताल’ भन्ने सरकारको नीति अनुसार १५ शय्याको पालिका अस्पताललाई स्तरोन्नतिका लागि जग्गा अस्पतालको नाममा ल्याउन सम्पूर्ण प्रक्रिया पूरा गरी भूमि व्यवस्था तथा अभिलेख विभागमा फाइल पुर्‍याई कार्य अगाडि बढाएको छ । लामो सयमदेखि अलपत्र अवस्थामा रहेको कालीगण्डकी ग्रामीण अस्पताललाई सञ्चालनमा ल्याउन सहजीकरण गर्दै आएका छौँ । नगर अस्पतालमा आधुनिक उपकरणसहित दक्ष जनशक्तिको व्यवस्था गरेका छौँ । वडा तहमा रहेका स्वास्थ्य चौकी र आयुर्वेद औषधालयलाई प्रभावकारी बनाउँदै लगेका छौँ । त्यस्तै सामुदायिक विद्यालयमा आकर्षण बढाउन विद्यार्थीसँगै विपन्न परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति अगाडि सारेका छौँ । जसका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थापन गरेका छौँ भने विद्यालयलाई आधुनिक शिक्षा प्रणालीमार्फत शिक्षण सिकाइ गराउन पे्ररित गर्दै आएका छौँ । चापाकोटमा रहेको कृषि क्याम्पस सञ्चालनका लागि पालिकाले पहल गरिरहेको छ भने सिटिइभिटीको आङ्गिक क्याम्पसका रूपमा किसान बहुप्राविधिक शिक्षालयलाई प्रभावकारी बनाउन सहयोग गरिरहेका छौँ । 

सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय कस्तो छ ?

नगरपालिकाले प्रदेश र सङ्घीय सरकारसँग मिलेर समपूरकलगायतका योजना साझेदारीमा काम गरिरहेको छ । हामीसँग सीमित स्रोतसाधन हुने हुँदा सङ्घ र प्रदेशको सहयोग अपरिहार्य छ । सङ्घ र प्रदेशसँग योजना माग गर्ने र परेका योजनालाई प्रभावकारी बनाउन पालिकाले सहकार्य गरिरहेको छ । 

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने काम पालिकाले गरेको छ ?

स्थानीयस्तरमा रोजगारी दिनका लागि कृषि कार्य पहिलो रोजाइ हो । नागरिकलाई कृषिमा आकर्षण गराउन र आत्मनिर्भर बनाउन हामीले कृषिका क्षेत्रमा रहेका सम्भावना खोजी गरी मौसमी तथा बेमौसमी तरकारी खेतीलाई प्राथमिकता दिएका छौँ । साना किसानलाई उत्पादनमा जोड्ने काम गरिरहेका छौँ । पशुपालनलाई आम्दानीको गतिलो स्रोत बनाउन उत्पादनमा आधारित अनुदानलाई कार्यान्वयनमा ल्याउने प्रयासमा छौँ । मासुजन्य उत्पादनमा वृद्धि गर्दै निर्याततर्फ जोड दिएका छौँ । यसलाई व्यवसायीकरण गर्ने पहलमा छौँ । अन्डा र तरकारी बालीको उत्पादन र निर्यातलाई समेत प्राथमिकतामा राखी योजना र कार्यक्रमहरू गरिरहेका छौँ । 

विकासलगायतका अन्य सेवासुविधा दिने सम्बन्धमा भावी योजना के कस्ता बनाउनुभएको छ ?

चापाकोटलाई समुन्नत बनाउन नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै लैजाने हाम्रो योजना छ । नगरको समृद्धिमा एक घर एक धारा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारीका अवसरको सिर्जना गर्ने दीर्घकालीन योजनासमेत तयार गरेर त्यसमै काम गरिरहेका छौँ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा ध्यान दिएको छु । पालिकाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, कृषि, स्वास्थ्य, सरसफाइ, भौतिक विकासलगायतका विषयमै काम गर्नुपर्ने हुन्छ । यिनै क्षेत्रमा हामी केन्द्रित छौँ ।