• १२ साउन २०८१, शनिबार

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

blog

काठमाडौं, वैशाख ६ गते । सरकारले मङ्गलबार र बुधबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य लिएको  छ।

सरकारले गत फागुन र चैतमा हात्तिपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा दुई वर्षमाथिका बालबालिकाले जुकाको औषधि खाइसकेको हुन सक्ने भएकोले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन निर्देशन दिएको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्ष दुईपटक बालबालिकालाई खुवाइँदै आएको छ ।