• २२ वैशाख २०८१, शनिबार

तिमाल जात्रा सुरु, बालाजुमा मेलाको तयारी

blog

काठमाडौँ, वैशाख ११ गते । बालाजुको बाइसधारामा लाग्ने पाँचदिने (ल्हुति पुन्हि) मेला मङ्गलबारबाट सुरु हुँदै छ । चैत शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जनाइएको छ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिका अनुसार मेलामा आउने तीर्थालु तथा भक्तजनको सुविधालाई ध्यानमा राखेर २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको छ । त्यस दिन सो क्षेत्रमा नेवार समुदायको जात्रासमेत लाग्ने गरेको छ । उक्त जात्रामा तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र काठमाडौँ महानगरपालिका वडा नं. १६ को पाँच वटा खट बालाजु बाइसधारामा ल्याइन्छ । पाँच दिनसम्म चल्ने मेलामा दुई लाख ३० हजार भक्तजन तथा जात्रालु आउने अपेक्षा आयोजकको छ । राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी ल्याइएको छ । बालाजु बाइसधाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ । ज्योतिष सुजल श्रेष्ठले चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउँदा गोसाइँकुण्ड र मुक्तिनाथमा नुहाए बराबरको पुण्य प्राप्त हुने र रोगव्याधी हराउने बताउनुभयो । बालाजुको बाइसधारामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बी जाने गरेका छन् । पूर्णिमाको अघिल्लो दिन बौद्ध धर्मावलम्बीले बौद्ध गुम्बामा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गर्दछन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गर्ने परम्परा रहेको छ ।

काठमाडौँ आसपासका जिल्लाका तामाङ समुदायले स्वयम्भूमा पुगेर दिवङ्गत आफन्तजनको नाममा बत्ती बाल्ने र लामा गुरुबाट पूजापाठ गराउने प्रचलन रहेको छ । यसलाई तेमाल जात्रा वा बौद्ध जात्रासमेत भन्ने गरिन्छ । 

तिमाल जात्रा सुरु  

पितृको सद्गति एवं मोक्षको कामना गर्दै  चैत्र शुक्ल पूर्णिमाको दिन मनाइने बौद्ध तिमाल जात्रा सोमबारदेखि सुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको तिमालका राजा रिन्जिन दोर्जेले चैत्र शुक्ल पूर्णिमालाई राजकीय पर्वका रूपमा मनाउने घोषणा गरेदेखि यस जात्रालाई तिमाल जात्रा भनिएको किंवदन्ती प्रचलित छ । 

बौद्ध तिमाल जात्रा व्यवस्थापन समितिका प्रवक्ता टासीकुमार लामाका अनुसार चैत्र शुक्ल प्रतिपदाको दिन तिमालका सर्वसाधारणले नमोबुद्धमा पितृको नाममा दीप बाल्दै राजधानीको बौद्धमा आएर पुनः बत्ती बाल्ने र लामागुरुद्वारा पूजापाठ गराउने प्रचलन रहेको छ । सोमबार बौद्धमा बत्ती बाल्ने र रातभर जाग्राम बसेपछि मङ्गलबार नागार्जुन डाँडा परिक्रमा गर्दै बालाजुमा नुहाउने गरिन्छ । त्यसपछि स्वयम्भू पुगेर पितृ उद्धारका लागि बत्ती बालेपछि तिमाल जात्रा समापन हुन्छ ।