• १२ साउन २०८१, शनिबार

सामुदायिक विद्यालयमा शुल्क उठाउन बन्द

blog

पुरस्कार लिँदै विद्यार्थी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १० गते ।
तनहुँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनै पनि शीर्षकमा विद्यालयलाई रकम बुझाउनुपरेको छैन । शुक्लागण्डकी नगरपालिका ३ कवासेस्थित शहिद कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीले शुल्क तिर्न नपरेको हो ।

निःशुल्क शिक्षा भनिए पनि अभिभावक सहयोग शुल्क, फारम शुल्कलगायतका विभिन्न बहानामा विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शुल्क उठाउने कार्य हुँदै आए पनि यस विद्यालयले कुनै पनि शुल्क लिएको छैन ।

विद्यालयहरूले चलाखीपूर्ण तरिकाले शुल्क नभनेर चन्दा तथा सहयोग भनेर रकम उठाइरहेका छन् । निजी स्राेतका शिक्षकका लागि तलब खुवाउन, अङ्ग्रेजी माध्यमबाट पठनपाठन भन्दै विद्यालयहरूले शुल्क उठाउँदै आएको अवस्थामा यस विद्यालयले भने कुनै शुल्क उठाएको छैन ।

विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट अन्यत्रबाट व्यवस्थापन गर्ने तर विद्यार्थीबाट शैक्षिक शुल्क नलिएको प्रधानाध्यापक राजन खनालले जानकारी दिनुभयो । अभिभावकको चाहना अनुसार अङ्ग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको यस विद्यालयले केही सङ्ख्यामा दरबन्दीका शिक्षक व्यवस्था गरेसँगै निजी स्रोतका शिक्षक हटाएर अभिभावकले तिर्दै आएको मासिक शुल्क नलिएको हो ।

वद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले सरकारको नीति अनुसार विद्यार्थीले पढ्न पाउने व्यवस्था गर्ने विद्यालय सम्भवतः आफ्नोे मात्र रहेको दाबी गर्नुभयो । भण्डारीले दरवन्दीका शिक्षकले अपुग भए स्वयंसेवक शिक्षकको व्यवस्थापन गरेर भए पनि शुल्क नलिएको बताउनुभयो । कक्षा नर्सरीदेखि माध्यमिक तहसम्म कुनै पनि शीर्षकमा रकम नलिइने उहाँले बताउनुभयो । विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट विद्यालय मातहतमा रहेका सटर भाडा, महायज्ञमार्फत सङ्कलन गरिएको रकमको ब्याज र स्थानीय सरकारबाट व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । संविधानमा माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा भनेकाले कार्यान्वयनमा ल्याइएको भण्डारी बताउनुहुन्छ ।