• २१ वैशाख २०८१, शुक्रबार

आयआर्जनका लागि उन्नत बाख्रा सहयोग

blog

महिला सदस्यलाई उन्नत बाख्रा वितरण गरिँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख ८ गते । महिला समूह तथा सहकारी संस्थाका महिला सदस्यहरुलाई उन्नत जातको बाख्रा सहयोग गरिएको छ । ती सदस्यहरुको आयआर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले जिल्ला बाहिरबाट खरिद गरिएका उन्नत जातका बाख्रा सहयोग गरिएको हो । 

ताँजाकोट गाउँपालिका– १ को जिमाना गाउँको कुलदेवशिल्तो महिला समुहका सदस्यलाई उन्नत बाख्रा सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । उक्त गाउँ जिल्ला कै दुर्गम बस्तीमा पर्छ । यसअघि ती महिला समुहहरुले कहिल्यै अनुदान सहयोग पाउनुभएको थिएन । 

जिमाना गाउँमा स्थानीयले बाख्रा पालन हुँदै आएको भएपनि त्यसबाट किसानले फाइदा लिन नसकेको ठहर गर्दै शाखाले ३५ जना महिला सदस्यहरुलाई एक-एक वटा उन्नत बाख्रा सहयोग गरेको हो । बाख्रा पालनबाट महिलाहरुको आयआर्जनमा सहयोग पुग्ने र पोषणमा सुधार आउने विश्वास गरिएको प्रमुख ढकालले बताउनुभयो ।  

गाउँपालिका अध्यक्ष लालकेश जैसीले बाख्रा बितरण गर्नुभएको हो । उहाँले यसबाट महिला सदस्यहरुले सदुपयोग गर्दै आर्थिक फाइदा लिनुपर्ने बताउनुभयो । वर्षमा दुई पटक बेहुने र एक पटकमा दुईदेखि तीन पाठपाठी जन्माउने भएको कारण पनि किसान फाईदामा जाने उहाँको विश्वास छ । बाख्रा अछाम जिल्लाबाट खरिद वितरण गरिएकाे हाे । यसका लागि शाखाले छ लाख बजेट खर्च गरेको छ ।