• ११ असार २०७९, शनिबार

टुँडालमा कुँदिएका यौन आसन

blog

काठमाडौं, वैशाख ५ गते । यौनका विषयमा कुरा गर्दा अझै पनि नेपाली समाज खुल्न मान्दैनन् । नेपाली समाजले यौनलाई ‘छाडा’ मान्छ । जस कारण धेरैले यौनका विषयमा जान्ने इच्छा हुँदाहुँदै भित्रभित्रै दबाउन बाध्य छन् । 

यौनकै कारण नेपाली समाजमा विभिन्न हत्या, हिंसा र बलात्कार जस्ता अमानवीय घटना भएको पाइन्छ । जबकि यौनका सम्बन्धमा हाम्रा पुर्खाले सयौं वर्षदेखि अनेक अभ्यास गर्दै आएका छन् । जुन अभ्यास हो, मन्दिरको टुँडालमा कुँदिएका विभिन्न खालका यौन आसन ।

काठमाडौं उपत्यकालाई मठमन्दिरका सहर भनेर चिनिन्छ । यहाँका मन्दिरहरुमा थुप्रै टुँडाल छन् जसमा प्रशस्तै मात्रामा यौन आकृति देख्न सकिन्छ । विशेषत : मठमन्दिर, घरको छानो वा बार्दलीका पाखा दलिनलाई आड दिन गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन प्रयोग गरिने काठको टेको ‘टुँडाल’ हो । 

विशेषगरी देवीहरुका मन्दिरमा यौन आकृतिका चित्रहरु बढी मात्रामा कुँदिएका हुन्छन् । मन्दिरको पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर टुँडालले भरिएको हुन्छ । चारै दिशातिर फरक फरक खालका यौन आकृतिहरु देख्न सकिन्छ । सम्प्रदाय, भेग अनुसार र दिशा छुट्याउनका निम्ति पनि टुँडालमा फरक प्रकृतिका कामकला कोरिएको संस्कृतविद् जगमान गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार टुँडालमा ‘अमनाय–अमनाय’ तन्त्र बाँडिएको हुन्छ ।

संस्कृतविद् जगमान गुरुङ भन्नुहुन्छ, सम्प्रदाय, भेग अनुसार र दिशा छुट्याउनका निम्ति पनि टुँडालमा फरक प्रकृतिका कामकला कोरिएको हुन्छ, टुँडालमा ‘अमनाय–अमनाय’ तन्त्र बाँडिएको हुन्छ ।

‘कलाकृतिबाट विश्लेषण गर्ने हो भने पूर्व मध्यकालका टुँडालहरुमा त्यस्ता आकृति हुँदैनथे, मध्यकालदेखि टुँडालको तल्लो भागमा कामकलाका आकृतिहरु कुँद्न सुरु गरिएको हो ।’ उहाँका अनुसार जयस्थिति मल्लको उदय भएपछि मध्यकाल सुरु भएको मानिन्छ । 

उहाँ भन्नुहुन्छ, ‘पूर्वमध्यकालमा टुँडालको तल्लो भागमा कामकलाका आकृति अङ्कित नगरी स्त्री र पुरुषको आकृति कोरेर युगल जोडा प्रस्तुत गरिएको थियो । त्यसैको विभूषित क्रममा कामकलाका दृश्यहरु अङ्कित भएका हुन् ।’ 

‘टुँडाललाई तीन भागमा बाँड्न सकिन्छ, मुख्य भाग भनेको बीचको भाग हो’, उहाँ भन्नुहुन्छ, ‘बीचको भागमा देवी देवता अर्थात् नारी पुरुषको आकृति अङ्कित गरिएको हुन्छ । सबैभन्दा माथिको भागमा फूलबुट्टाहरुको चित्र हुन्छन् भने कामकलाको आकृतिहरु तल्लो भागमा अङ्कित गरिएको हुन्छ । 

उहाँका अनुसार, ‘पूर्वमध्यकालका टुँडालहरु जस्तै, पनौतीको इन्द्रेश्वर मन्दिर, काठमाडौंको इटुम्बहाल, ललितपुरको इन्द्रवर्मा महाविहार अर्थात् इखुबहाल मन्दिर र पशुपतिका टुँडालहरुमा पुरानै परम्परा अनुसारका कामकलाका आकृतिहरु अङ्कित गरिएको छैन । 

टुँडालमा यौन आकृति कुँदिनुका कारण 

मन्दिरका टुँडालमा कामकलाका आकृतिहरु अङ्कित गरिए भने त्यहाँ चट्याङ नपर्ने जनविश्वास रहेको संस्कृतविद् गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार ‘बज्रबान’बाट बच्नका लागि कामकलाका दृश्यहरु अङ्कित गरिएको भन्ने मान्यता छ । 

‘कामकलाको शिक्षा दिनको लागि पनि मन्दिरमा यौन आकृति अङ्कित गरिएको हो’, उहाँ भन्नुहुन्छ, ‘अरु सबै कुरा सिकाउनुपर्छ तर कामकला भनेको पशुपन्छी, कीरा फट्याङ्ग्रा कसैलाई सिकाउनै पर्दैन । यो प्रकृतिको नियम हो ।’

‘प्राचीन दर्शनमा प्रकृति ‘पुरुषात्तमकं जगत्’ उल्लेख गरिएको छ, अर्थात् यो जगत् प्रकृति र पुरुषले युक्त छ । प्रकृति भनेको स्त्री तत्व र पुरुष भनेको पुरुष तत्व हो । यी तत्व अविरल धारमा बगेर आएको छ । यसैबाट जगत्को सृष्टि भएको हो । जगत्को पालन भएको छ । यो यसको वैज्ञानिक मान्यता हो’, उहाँले भन्नुभयो । 

यसरी मध्यकालमा पुरुष स्त्रीको प्रकाशन कामकलाका आकृतिहरु अङ्कित गरिएको हो । जुन तन्त्रको प्रभाव हो । तन्त्रशास्त्रको सिद्धान्तलाई प्रस्तुत गर्न कामकला अङ्कित गरिएको हो । 

उहाँका अनुसार तन्त्र शास्त्रमा पनि विभिन्न अमनाय वा सम्प्रदायहरु हुन्छन् । सम्प्रदायभित्र हुने भेद र उपभेदको सिद्धान्त देखाउनलाई मन्दिरको टुँडालमा यौन आकृति कुँदिएको हो । 

मन्दिरमा नै किन यौन आकृति कुँदिन्छन् ?

उहाँ भन्नुहुन्छ, ‘मन्दिर भनेको सार्वजनिक स्थल हो । यहाँ सबैको उपस्थिति रहेको हुन्छ । तन्त्रशास्त्रको सिद्धान्तहरुलाई मूर्तरुपमा प्रस्तुत गर्न कामकलाका दृश्यहरु प्रस्तुत गरिएको हो ।’ 

जस्तै, काठमाडौंको नक्साल भगवतीको मन्दिर, पाटनका मन्दिर, भक्तपुरको न्यातपोल मन्दिरमा पनि टुँडालहरुमा कुँदिएको पाइन्छ । मध्यकालमा जति पनि मन्दिरहरु बने सबैमा कामकलाका आकृतिहरु अङ्कित भएका छन् । 

‘धर्ती माता र आकाश पिता हुन् । धर्तीले थापेर आकासले छोपेर युगको सृष्टि भएको छ जुन प्राचीन दर्शन अन्र्तगत पर्दछ’, उहाँ भन्नुहुन्छ, ‘प्राचिन दर्शनलाई मूर्तरुप दिनका लागि शिवलिङ्ग बनाइएको हो । ‘शिवलिङ्गमा स्त्री र पुरुष दुवै तत्व छ ।’ ‘शिवलिङ्गको जलहरी भाग स्त्री तत्व हो अर्थात् प्रकृति हो । जलहरी भाग योनी आकारको हुन्छ । यो स्त्रीको चिन्ह हो । लिङ्ग भनेको पुरुषको प्रतीक हो । जस्तै, दक्षिण भारतको बुद्धिमल्लम भन्ने ठाउँमा शिवलिङ्ग पाइएको छ । त्यो शिवलिङ्ग इशापूर्व तेस्रो शताब्दीको हो । यो मानव लिङ्गको आकृतिको छ,’ उहाँले भन्नुभयो । 

लिच्छवीकालका जति पनि शिवलिङ्ग छन् त्यसमा भने रेखाद्वारा मानव लिङ्गको आकृति प्रस्तुत गरिएको पाइन्छ ।’ 

यस्तै, सम्पदाविद् सुदर्शनराज तिवारी भन्नुहुन्छ, ‘टुँडालमा तीन वटा प्यानल छन् । तीमध्ये बीच भागमा देवीदेवताका आकृति कुँदिएको हुन्छ, तल्लो भागमा चरा र बाजा बजाउनेको आकृति देख्न सकिन्छ ।’ 

‘टुँडालमा तीन वटा प्यानल छन् । तीमध्ये बीच भागमा देवीदेवताका आकृति कुँदिएको हुन्छ, तल्लो भागमा चरा र बाजा बजाउनेको आकृति देख्न सकिन्छ ।’ सम्पदाविद् सुदर्शनराज तिवारी

मन्दिरभित्रको देवीदेवता चिनाउनका लागि बाहिर ती देवताका आकृति कुँदिएको उहाँ बताउनुहुन्छ । जस्तै, पशुपतिनाथ मन्दिरका चारै फेसमा सत्य युग, त्रेता युग, द्वापर युग र कलियुगका देवताहरु छन् । 

उहाँ भन्नुहुन्छ, ‘वास्तुशास्त्र अनुसार टुँडाल माथिल्लो तलामा राखिनुपर्छ । पशुपतिनाथको मन्दिरको माथिल्लो तलामा १६ वटा टुँडालमा १६ जना आइमाईको आकृति कुँदिएको छ । जसले शिवपार्वतीको प्रतिनिधित्व गरेको छ । १६ वटा चन्द«माको कलाहरु र यसले समयलाई प्रतिनिधि गरेको हो ।’

हरेक मन्दिरमा कुँदिएका यौन आकृतिहरु फरकफरक खालका हुन्छन् । मन्दिर बाहिरका बुट्टाले भित्रका देवीदेवतालाई सङ्केत गर्ने गर्दछ । 

उहाँका अनुसार पुराना मन्दिरका टुँडालहरुमा ‘नर्टक’को आकृति कुँदिएका हुन्छन् । बाङ्गेमुडा अवस्थित इखानारायणको मन्दिरमा ‘र्कोट डान्सर’ अर्थात् नर्टकका आकृतिहरु देख्न सकिन्छ । पुराना टुँडालमा यौन आकृति खासै नहुने उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘वास्तुशास्त्र अनुसार देवीदेवतालाई बुझ्न धेरै गाह्रो छ । धार्मिक फिलोसोफी अनुसार देवी देवतालाई प्रतिनिधित्व गर्ने खालका आकृति मन्दिरमा देख्न सकिन्छ’ ।  

Author
सनम महर्जन

उहाँ कला, संस्कृति र मनोरञ्जन विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।