• १८ वैशाख २०८१, मङ्गलबार

माडीमा विद्युत सेवा अवरुद्ध

blog

भरतपुर, वैशाख ५ गते । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत अवरुद्ध भएको थियो ।

अवरुद्ध सेवा मर्मतपछि मङ्गलबार साँझदेखि ५ सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो । उहाँले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताउनुभयो । 

आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भन्दै पुनः मर्मतका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको सापकोटाले बताउनुभयो । “आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत सप्लाई गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था भने छैन”, उहाँले भन्नुभयो । निकुञ्जभित्रको भूमिगत तार पड्किदा माडीमा पटक-पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

निकुञ्जभित्र आठ किलोमिटरमा चनौली-जगतपुर-माडी ३३ केभी सब-प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इन्जिनियर सापकोटाले बताउनुभयो । पटक-पटक विद्युत अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् । रासस