• १२ साउन २०८१, शनिबार

गोरखापत्रकर्मी कमल खत्री सम्मानित

blog

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकबाट सम्मान ग्रहण गर्दै गोरखापत्रकर्मी कमल खत्री ।

कमल खत्री

खजुरा, वैशाख २ गते। आयुर्वेद सेवाको प्रचार प्रसारमा योगदान गरेको भन्दै गोरखापत्रकर्मी कमल खत्री सम्मानित हुनुभएको छ। खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले खत्रीलाई सम्मान गर्नुभएको हो। 

स्वास्थ्य सेवा आयुर्वेद समूह अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो। करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय खत्रीलाई आयुर्वेद सेवाको प्रचार प्रसार तथा जनचेतना मूलक सन्देश प्रवाह गर्न भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो। बाँकेमा आयुर्वेद सेवाको बारेमा खत्रीले नियमित रूपमा समाचार लेख्दै आउनुभएको छ। 

यसैगरी बाँकेको खजुरा गाउँपालिकामा पञ्चकर्म तथा पूर्वकर्म थेरापी सेवा सुरु भएको छ। खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको नागरिक आरोग्य सेवा केन्द्रले पञ्चकर्म तथा पुर्वकर्म थेरापी सेवा सुरु गरेको हो। कार्यक्रमको अवसरमा नागरिक आरोग्य सेवा केन्द्र परिसरमा निर्माण गरिएको नयाँ भवनको पनि अध्यक्ष विकले उद्घाटन गर्नुभयो। 

खजुरा गाउँपालिका सामाजिक विकास समिति संयोजक कृष्णा कुमारी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति सदस्य इरफान खान, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.गीता रेग्मी, आयुर्वेद कन्सल्टेन्ट डा. अनिल कुमार चौधरी, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, आयुर्वेद शाखा प्रमुख किरण खनाल, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल लगायतको सहभागिता रहेको थियो।