लीलाधर वली
घोराही, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी जान थालेका छन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरू मतदान केन्द्र जान थालेका छन् ।
निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने मतपत्र, मतपेटिकालगायतका आवश्यक सामग्री निर्वाचन अधिकृतको कार्यालय र प्रदेश निर्वाचन कार्यालयबाट बुझेर कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रमा जान सुरु गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी जानकारी दिनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत पण्डितका अनुसार निर्वाचनमा खटिने कर्मचारीलाई बिहान १० बजेदेखि मतपत्र, मतपेटिकालगायतका निर्वाचनका लागि आवश्यक सामग्री वितरण गर्ने काम भइरहेको छ । मतपत्रलगायतका निर्वाचन सामग्रीको सुरक्षाका लागि जिल्लामा सुरक्षाकर्मी र कर्मचारीलाई सँगसँगै मतदान केन्द्रमा पुग्ने व्यवस्था गरिएको बताउनुभयो । मतदान केन्द्रमा पुगेर कर्मचारीले मतदान स्थल सरसफाइसँगै राजनीतिक दलसँग समन्वय बैठक गरेर मतदान केन्द्र निर्माणलगायतका काम गर्ने बताउनुभयो । त्यसैगरी मतदान स्थललाई शील गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र घोषणा गर्ने लगायतका काम गर्ने छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका चार सय ८२ वटा मतदान केन्द्रमा दुई हजार आठ सय ९२ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा छ जना गरेर दुई हजार आठ सय ९८ जना कर्मचारी खट्दैछन् । त्यसैगरी निर्वाचन सुरक्षाका लागि जिल्लामा पाँच हजार ५ सय ११ जना सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना रहेका छन् ।
दाङमा एक सय ५९ मतदान स्थलअन्तर्गत चार सय ८२ वटा मतदान केन्द्र रहेका छन् । जसमा १६ वटा अतिसंवेदनशील, १३४ वटा संवेदनशील र नौ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको छ ।