रमेश विश्वकर्मा
गुल्मी, फागुन १८ गते। गुल्मीमा ड्रोन प्रयोगमा रोक लगाइएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आज (सोमबार)देखि मतगणना सम्पन्न नहुँदा सम्म ड्रोन प्रयोगमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी ड्रोन प्रयोगमा रोक लगाइएको हो। निर्वाचनको निष्पक्षता, सुरक्षा संवेदनशीलता र शान्ति सुव्यवस्था कायम राख्नका लागि सुरक्षा निकाय बाहेक अन्य निकाय संघ–संस्था वा व्यक्तिहरूबाट सञ्चालनमा रहेका ड्रोनहरू मतगणना सम्पन्न नहुँदा सम्म रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो।
मतदान केन्द्र वरपर हुने अनावश्यक भिड, सुरक्षा चुनौती तथा मतदातामा त्रास सिर्जना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ड्रोन प्रयोगमा रोक लगाइएको हो। प्रशासन कार्यालयले जारी गरेको ड्रोन प्रयोगमा रोक लगाइएको सम्बन्धी सूचनाको उल्लङ्घन गरी कसैले ड्रोनको प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने बताइएको छ। निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
त्यसैगरी फागुन २० गते राति १२ देखि २१ गते साँझ मतदान सम्पन्न नभए सम्मका लागि सरकारी, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने उहाँले बताउनुभयो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयानुसार मतदानको दिनमा अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्चालन गरिने छ।
जसमा एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी साधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन, कुटनीतिक नियोगका सवारी साधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी अनुमति प्राप्त गरेका सवारी साधनहरू सञ्चाल गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।