• १८ फागुन २०८२, सोमबार

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारको दौडधुप

blog

प्रचारप्रसारको अन्तिम दिन खजुरामा निकालिएको नेकपाको र्‍याली । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, फागुन १८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार्फत शक्ति प्रदर्शन गरेका छन् ।

सोमबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बृहत् मोटरसाइकल र्‍याली निकालेका हुन्।

बाँके क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सुधांशु कोइरालाको समर्थनमा र्‍याली निकालिएको काङ्ग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले बताउनुभयो । रामलीला मैदानबाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोही क्षेत्रमा बृहत् र्‍याली निकालेको निर्वाचन प्रचार समितिका संयोजक बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी, राप्रपाका उम्मेदवार ऋषिराज देवकोटाको समर्थनमा पनि सोमबार मोटरसाइकल र्‍याली निकालिएको नेता नन्दलाल वैश्यले बताउनुभयो । नेकपाले क्षेत्र नं. १ र ३ मा आफ्ना उम्मेदवार नरेन्द्र पाण्डे र दीपक जीएमको पक्षमा प्रदर्शन गरेको नेता पूर्णाकुमारी सुवेदीले जानकारी दिनुभयो । क्षेत्र नं. १ मा नेकपा (एमाले) ले पनि सोमबार ठुलो र्‍याली निकालेको छ ।

यसअघि आइतबार बाँके क्षेत्र नं. २ मा नेकपाका दीपेन्द्र विष्ट र एमालेका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको समर्थनमा बृहत् र्‍याली प्रदर्शन गरिएको थियो । क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारको पक्षमा पनि र्‍याली निकालिएको थियो ।

प्रचारप्रसारको समय सकिनै लाग्दा प्रमुख दलका उम्मेदवारहरूले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा मुख्य दलका उम्मेदवारहरूबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।