• १८ फागुन २०८२, सोमबार

बाँकेका मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझे

blog

मतदान केन्द्रमा खटिएका कर्मचारी निर्वाचन सामग्री बुझेर निस्कँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका मतदान केन्द्रहरूमा खटिएका कर्मचारीले सोमबार निर्वाचन सामग्री बुझेका छन् । 

जिल्लाका ४०३ मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सोमबार निर्वाचन सामग्रीहरू दिएर सम्बन्धित मतदान केन्द्रतर्फ पठाइएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार मतदान केन्द्रहरूमा खटिएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्ज र निर्वाचन अधिकृतका कार्यालयहरूले निर्वाचन सामाग्री वितरण गरेका हुन् । उहाँले जिल्ला निर्वाचन कार्यालयले यस अघिनै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पठाएका निर्वाचन सामाग्रीहरूलाई सोमबार कर्मचारीलाई बुझाएर पठाइएको बताउनुभयो । 

जिल्लामा रहेका तीनवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री वितरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले मतदान केन्द्रमा खटाइएका कर्मचारीलाई मतदान सामाग्री बुझाएर पठाइएको जनाउँदै अब उनीहरूले आ आफ्नो केन्द्रमा पुगेर मतदानको तयारी सुरु गर्ने बताउनुभयो । कर्मचारीहरूले फागुन १९ र २० गते मतदान केन्द्रमा मतदानको सबै तयारी पूरा गर्ने छन् । 

सहायक निर्वाचन अधिकृत कार्कीका अनुसार यसअघि ती कर्मचारीलाई तालिम दिनुका साथै मतदान स्थलमा खटिएको नियुक्तिपत्र पनि वितरण गरिएको थियो । उहाँले मतदान सामाग्री बुझेपछि कर्मचारीहरू आफ्नो जिम्मेवारी अनुसार तोकिएको मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित गएको बताउनुभयो । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार बाँके जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । ती अन्तर्गत १३९ मतदान स्थल र ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ । बाँकेमा ३ लाख ५० हजार ३७१ मतदाता छन् । जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन् ।