• २० वैशाख २०८१, बिहिबार

पाँच वर्षमा पनि बनेन कट्नु खोलाको पुल

blog

हरि कोइराला

उर्लाबारी, वैशाख ४ गते । मोरङकोे रतुवामाई नगरपालिका ५ र ६ को बिचमा पर्ने कट्नु खोलामा निर्माणाधीन पुलको निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले विगत ६ वर्ष देखि सास्ती व्यहोर्दै आएका छन् । 

२०७५ सालमा पक्की पुल निर्माणका गर्ने ठेक्का स्काई वाइ माँ जानकी कन्ट्रक्सन जनकपुरले प्राप्त गरेको थियो । तीन करोड ३७ लाख रुपियाँमा ठेक्का लागेको पुल २०७७ को असार मसान्तमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो । २५ मिटर लम्बाई र १५ फिट चौडाईको उक्त पुल ५ वर्ष बितिसक्दा पनि अझै बन्न सकेको छैन । वडा नं. ५ को परेवाखोपीबाट वडा नं. ६ को जोरपानी जोड्ने कट्नु खोलामा पहिले पनि पुल थियो । हुँदा छँदाको पुलबाट ओहोरदोहोर भइरहेको थियो । 

पुल कमजोर भयो भनेर नयाँ पुल बनाउने भएपछि स्थानीयमा खुसी छाएको थियो । तर पाँच वर्ष बितिसक्दा पनि पनि पुल नबने पछि स्थानीयलाई सास्ती भएको छ । "पुरानो पुलले काम गर्दैन । सडकको दुवैतर्फ भत्काएपछि पुरानो पुल काम नदिने भयो, नयाँ पुल ठेकदारले बनाएनन्", वडा नं.६ का वडाध्यक्ष तुलाराम लुइटेलले भन्नुभयो, "प्रदेश सांसद, सङ्घीय सांसद सबैलाई हार गुहार गर्याैं । भन्न र गर्न बाँकी केही छैन । हामीलाई त के सङ्घीय सांसदको कुरा समेत निर्माण कम्पनीले नसुन्दा रहेछन् ।" 

वडा नम्वर ५ का वडाध्यक्ष सोमबहादुर कार्कीका अनुसार जानकी कन्ट्रक्सनले पेश्की लिएर केही काम गरेपछि जोइन्ड कम्पनीलाई काम गर्न दिएको थियो । जोइन्र्ड कम्पनीले काम सुरु गरेर पैसा माग्दा पेश्की वापत साझेदार कम्पनीले पैसा लगिसकेको देखिएपछि हाल काम गर्ने जिम्मा लिएको कम्पनीले पुरानो कम्पनीलाई मुद्धा दायर गरेको छ । 

अदालतले मुद्धा फैसला गरेको छैन । अदालतमा भएको केशलाई पालिकाले निर्णय गरेर केही गर्न सक्दैन । कार्कीले मङ्सिर महिनासम्म अदालतको प्रक्रिया कुने त्यसपछि नगरले आफै भएपनि निर्माण प्रक्रिया सुरु गर्ने बताउनुभयो ।  

खोलामा पुल नबन्दा अधिकारी चोकदेखि पूर्व सौठा बजार सम्मको बाटोमा आबतजावत गर्न कठिनाइ भएको छ । "गोविन्दपुर बजारबाट नगरपालिकाको कार्यालय जोड्न यही सडक हुँदै आवतजावत गर्नुपर्छ । नगरको ऐतिहासिक महत्वको सडक भएकोले नयाँ पुल बनाउन प्रस्ताव गरिएको रहेछ । तर निर्माण कम्पनीबिच नै मुद्धा मामिला भएपछि  काम अघि बढ्न सकेको छैन", रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भन्नुभयो । 

स्थानीय नीजि विद्यालयले झनै ठूलो झन्झट व्यहोर्नु परिरहेको स्थानीय विद्यालयका प्रिन्सिपल बिश्वनाथ रायले बताउनुभयो । "उक्त ठाउँमा पुरानो पुल हुँदाहुँदै नयाँ पुल निर्माण गर्ने भनेपछि पुरानो ले पनि काम दिन छोड्यो नयाँ बनेन । विद्यालयका बसहरू वारिपारि गर्नलाई ५ किमी घुम्नुपर्ने बाध्यता छ", रायले भन्नुभयो ।