• २४ वैशाख २०८१, सोमबार

जनप्रभात माविलाई दूतावासद्वारा बस प्रदान

blog

भारतीय दूतावासले प्रदान गरेको बस । तस्बिर : प्रेमराज सिम्खडा

 प्रेमराज सिम्खडा

कालीकोट, वैशाख ३ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ८ मा रहेको जनप्रभात मावि सेरावाडाले बस सेवा सञ्चालन गर्ने भएको छ । विद्यालयलाई भारती दूतावासले प्रदान बस गरेपछि विद्यालयले बस सेवा सञ्चालनमा ल्याउने भएको हो । 

विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले दूतावासले प्रदान गरेको बस ल्याएर आफू कालीकोट आएको बताउनुभयो । आइतबार दूतावासले बस विद्यालयलाई हस्तान्तरण गरेको र आज कालीकोट ल्याइएको उहाँले बताउनुभयो ।

यससँगै अब तिलागुफा र खाँडाचक्र नगरपालिका भित्रका अन्य वडाबाट आउने विद्यार्थीलाई बसमार्फत सेवा दिने उहाँको भनाइ छ ।

दूतावासमार्फत बस सहयोग पाउने सामुदायिक विद्यालय पहिलो भएको छ । यस अघि जिल्लाका कुनै पनि विद्यालयले बस सेवा सञ्चालनमा ल्याएका छैनन् । निजी विद्यालयले बस सेवा सञ्चालनमा ल्याएपनि कालीकोटमा सरकारी विद्यालय कुनैले पनि बस सेवा सञ्चालन गरेका थिएनन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनजय अधिकारीले दुर्गमको आवाज भारतीय दूतावासले सुनेको बताउनुभयो । स्थानीय कृष्णबहादुर मल्लले विद्यालय परिवारको सक्रियताले बस प्राप्त गरेको बताउनुभयो ।

यसैगरी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा अभिभावक गगनबहादुर मल्लले दूतावासमार्फत जिल्ला अस्पतालका लागि एम्बुलेन्स र विद्यालयका लागि बस माग भए पनि बस प्रदान भएको र एम्बुलेन्स नभएको बताउनुभयो । प्रअ मल्लले शैक्षिक सत्र २०८१ बाट बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।