प्रेमराज सिम्खडा
कालीकोट असार ४ गते । कालीकोटको नरहरीनाथ गाउँपालिका–१ र ८, ९ जोड्ने रहगाढमा झोलुङ्गे पुल
निमार्ण भएको छ । लामो समयदेखि झोलुङ्गे पुल निमार्ण नहुँदा नागरिकसँगै पशु
चौपायालाई आउजाउ गर्न समस्या भएको थियो । स्थानीयको दबाबपछि पुल निमार्ण भएको र अवको यात्रा सहज हुने आश गरिएको छ । रहगाढमा रहको झोलुङ्गे पुल पहिरोले भत्काएपछि यात्रा गर्न निकै जोखिम भएको थियो ।
नरहरीनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदिप बोहोराले धेरै मानिस हिँड्ने पुल बल्ल निमार्ण भएको बताउनुभयो । उहाँले गाउँपालिकाले आफ्नै लगानीमा पुल निमार्ण गरेको जानकारी दिनुभयो । पुल निर्माण भएसँग यात्रा गर्न अब सहज भएको उहाँको भनाइ छ । पुल निमार्णका लागि एक गैरसरकारी संस्थाले जिम्मा लिएको थियो ।
गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष बोहोराले भौगोलिक जोखिम लगायतका कारण देखाएर पुल निमार्ण नगरेपछि गाउँपालिले उपभोक्ता समितिमार्फत पुल निमार्ण गरेको जानकारी दिनुभयो । गाउँपालिकाले पुल निमार्णका लागि गत आर्थिक वर्ष ५० लाख बजेट विनियोजन गरेको थियो ।
गत चैतमा ‘पुल नहुँदा नागरिक सास्तीमा’ भन्ने समाचार गोरखापत्रमा प्रकाशनपछि गाउँपालिकालाई दबाब हुँदा गाउँ सभामार्फत बजेट विनियोजन गरिएको थियो । त्यसपछि पुल निमार्णको काम सुरु भएको र अब दुई–तीन दिनमा औपचारिक उद्घाटन हुने गाउँपालिकाले जनाएको छ ।
पुल निमार्णका लागि पुलमा चाहिँने लठ्ठा झोलङ्गे पुल सेक्टर कार्यालय नेपालगञ्जले दिएको थियो भने बाँकी गाउँपालिकाको बजेट खर्च भएको छ । पुल निमार्णका लागि ५० लाख बजेट बिनियोजन गरियता पनि खर्च ६५ लाख माथि पुगेको वडाध्यक्ष बोहोराको भनाइ छ । पुल निमार्णपछि नरहरीनाथ गाउँपालिका– १, २, ६, ८ र ९ का साथै रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, अछामको पञ्चदेवल बिनायक नगरपालिका सम्मका नागरिकका लागि सहज भएको छ ।