• २० वैशाख २०८१, बिहिबार

२०८१ साललाई पार्टी शुद्धीकरणको वर्ष बनाऔँ : महामन्त्री थापा

blog

समुदायमा कांगे्रस अभियान अन्तरगतको सुदूरपश्चिममा पहिलो संवाद यात्रालाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापा । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना
टीकापुर, वैशाख ३ गते । 
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले २०८१ साललाई शुद्धीकरण सालको रूपमा बनाउनुपर्ने बताउनु भएको छ ।

महामन्त्री थापाले सोमबार समुदायमा कांग्रेस अभियान कार्यक्रम अन्तर्गतको संवाद यात्राका क्रममा सुदूरपश्चिमको टीकापुर नगरपालिका–७ सत्तीमा कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

उहाँले शुद्धीकरणका लागि पहिलो २०८१ सालभरि झुक्किएर पनि सिंहदरबारतिर आँखा नलगाउने र सरकारलाई चल्न दिनुपर्ने, दोस्रो महासमितिको निर्णय शिरोधार्य गरी जस्तो समस्या परे पनि चुनाव अघि कुनै दलसँग गठबन्धन नगर्ने, तेस्रो पार्टीभित्रको गुट बन्धन अन्त्य गर्ने, चौथो निर्वाचनका लागि उम्मेदवार छान्न कार्यकर्ताले पार्टी सम्मेलनबाट छान्ने र सदस्यता एकै किसिमको बनाइ नवीकरण गर्दा पार्टीको नीति सिद्धान्त जानेको छ छैन पत्ता लगाएर दिने मापदण्ड बनाउनुपर्ने बताउनुभयो ।

सरकारी उद्योगको निजीकरण गर्ने कार्य गरेर कांग्रेसले गल्ती नगरेको तर २०५१ सालमा मध्यावधिमा जानु कांग्रेसको ठुलो कमजोरी भएकाले कांग्रेसले माफी माग्नुपर्ने बताउनुभयो । उहाँले मध्यावधिमा नगएको भए देशले अर्कै मोड लिने बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘‘युवाले विदेश गएर कमाउने यहाँ बसेकाले त्यही पैसाले चामल तरकारी किनेर खान्छौँ उत्पादन बढाएन भने विदेशमा कमाएर देश समृद्ध बन्दैन त्यसैले उत्पादनमा लगानी  गरेर रोजगारीको सृजना गर्न र युवाले कमाएको पैसा देशभित्रै राख्ने योजना बनाउनुपर्छ ।’’

थापाले आफू २०४८ सालदेखिकै भ्रष्टाचार छानबिन हुनुपर्ने पक्षमा रहेको र यससम्बन्धी प्रस्ताव कांग्रेसले संसदमा पेस गरेको बताउनुभयो ।

संवाद यात्राका क्रममा महामन्त्री थापाले सोमबार हुलाकी राजमार्गका कैलालीका चार ठाउँमा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।