• १२ साउन २०८१, शनिबार

सहिद स्मारकमा एकै दिन बिस हजार पर्यटक

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, वैशाख २  गते । नयाँ वर्षको पहिलो दिन शनिबार सहिद स्मारकमा आन्तरिक तथा बाह्य पर्यटकको भिड थेगिनसक्नु भएको छ । नयाँ वर्षका दिन नयाँ स्थानसँगै मठमन्दिरमा परिवार र साथीभाइसँगै जाने आमप्रचलन अनुसार नयाँ गन्तव्य स्थलको खोजीका क्रममा स्मारकमा पर्यटकको ठुलो सङ्ख्यामा भिड लागेको हो । पछिल्ला वर्षमा नेपालीसँगै अङ्ग्रेजी नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्य स्थलमध्येको एक हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक बन्दै आएको छ ।

स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले स्मारकमा विगतका वर्षहरूको नयाँ वर्षमा झैँ यस पटक पनि नयाँ वर्षको पहिलो दिन घुम्न र रमाइलो गर्न आउनेको घुइँचो लागेको जानकारी दिनुभयो । नयाँ वर्ष २०८१ को पहिलो दिन २० हजारभन्दा बढी पर्यटक स्मारकमा अवलोकन एवं मनोरञ्जनका लागि आइपुगेको उहाँले बताउनुभयो । स्मारकमा आउनेमा जिल्लाभित्रका भन्दा बढी छिमेकी जिल्ला विशेषतः तराईका जिल्लाबाट आएका थिए । साथै सीमावर्ती भारतका जिल्लाबाट समेत पर्यटक स्मारकमा पुगेका थिए । 

स्मारकमा घुम्ने र हेर्ने थप संरचना बनेसँगै आकर्षण बढ्दै गएको छ । स्मारकमा बत्ती जडानसँगै सौन्दर्यीकरण गरिएपछि रात्रिकालीन समयमा खुला गरिने भएको छ । नयाँ वर्षको शुभारम्भसँग पहिलो दिनबाट नियमित रुपमा बिहान ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म खुला रहने गरी व्यवस्थापन गरिएको छ । स्मारक विकास समितिका कार्यालय प्रमुख न्यौपानेले सामान्यतया बिदाका दिन र पर्यटकको चाप भएको दिनमा राति ६–७ बजेसम्म खुला रहने गरेको स्मारक अब नयाँ वर्षबाट बिहान ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म नियमित रूपमा खुला राख्ने गरी निर्णय भएको बताउनुभयो । 

नयाँ वर्षको पहिलो दिन स्मारकमा पुगेका कोही सेल्फी लिँदै थिए, केही नेपाली परम्परागत भेषभूषामा सजिएर तस्बिर खिचाउँदै थिए, कतिपय सामूहिक तस्बिर खिच्दै थिए त कोही स्मारकमा अवस्थित चिडियाघरमा पुगेर अवलोकन गर्दै जनावरसँग जिस्किँदै थिए । नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा नयाँ वर्ष मनाउनबाहेक स्मारकमा कात्तिक, मङ्सिर र पुसमा पिकनिक आउनेको भिड लाग्ने गरेको छ । सहिद स्मारकमा सहिद स्तम्भ, चिडियाघर, बालउद्यान, राजनीतिक नेताहरूको नाममा पार्क, सङ्ग्रहालय, बुद्धका मूर्तिलगायतका मनोरञ्जन स्थल छन् ।