• १९ वैशाख २०८१, बुधबार

उद्धार केन्द्रमै मर्न थाले पाटेबाघ

blog

काठमाडौँ, वैशाख २ गते । उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएका पाटेबाघ मर्ने क्रम जारी रहेपछि संरक्षणकारी निकायमा चिन्ता बढेको छ । उद्धार केन्द्रमा राखिएका बाघको रेखदेख राम्रो नहुँदा मर्न थालेको संरक्षणकर्मीले आरोप लगाएका छन् । 

पर्सा राष्ट्रिय निकुञ्जमा विगत छ महिनायता उद्धार केन्द्रमा राखिएका तीन वटा बाघ मरेका छन् । अन्य थप चार वटा बाघ वन परिसरमै मृत फेलापरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार अस्थायी उद्धार केन्द्रमा उपचारको सुविधा राम्रो नहुँदा बाघको मृत्यु भएको उहाँले स्वीकार गर्नुभयो ।

तत्काल उद्धार गरेर राख्न बनाएको खोरमा दुई वटा बाघ राख्ने क्षमता छ । तर मानवभक्षी भएपछि पक्रेर तीन वटा राखिएका थिए । तीनमध्ये एउटालाई पक्रँदै घाउचोट बढी भएर कमजोर रहेकाले मृत्यु भएको बताइएको छ । अर्को बाघ आपसमा जुधेर आँखा फुटेको थियो र टाउकोमा लागेको चोटबाट सङ्क्रमण फैलिएर मृत्यु भएको थियो । अर्को बाघ बिरामी परेपछि औषधीसहितको खाना खुवाउन खोज्दा पनि सात दिन लगातार खाना नखाएर कमजोर भएका कारण मरेको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताउनुभयो । 

उहाँले पक्रेका पाटेबाघलाई खोरमा राख्नु भनेको उनीहरूलाई यातना दिएर जेलमा राखेसरह हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा एउटा क्लिनिक उद्धार केन्द्रमा हुनै पर्छ । अन्यथा बाघलाई बचाउन सकिँदैन ।” यीमध्ये एउटा बाघ चितवनमा राख्ने ठाउँ नभएपछि पर्सा लगिएको थियो । सन् २०२२ को गणना अनुसार पर्सामा ४१ वटा वयस्क बाघ छन् । 

बाघको सङ्ख्या सबैभन्दा धेरै १२८ रहेको चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष उद्धार केन्द्रमा रहेको एउटा बाघ मात्र मरेको निकुञ्जले जनाएको छ । यसले पनि अस्पताल वा उपचारको सुविधा सहज हुँदा खोरमा राखिएका बाघ बढी बाँचेको पुष्टि हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जाका अनुसार चितवनका उद्धार केन्द्र वन्यजन्तुमैत्री रहेकाले पनि मरण कम छ । त्यसरी खोरमा राखिने प्रायः बुढा, बिरामी र घाइते बाघ पक्रेर राख्ने गरिन्छ । 

बाघ बुढो हुँदै जाँदा आहारा सिकार गर्न सक्दैन । उहाँले भन्नुभयो, “त्यसैले वनबाट बाहिर निस्केर मान्छे र गाईबस्तु खान थाल्छन् । अनि पक्रेर उद्धार केन्द्रमा राखिन्छ ।” त्यस्ताखालका बाघ मर्न सक्ने सम्भावना बढी हुन्छ । चितवनमा पाँच वटा बाघ उद्धार केन्द्रमा छन् । जस अनुसार कसरामा एक, देवनगर दुई र सौराहामा दुई वटा छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार भरतपुरका अन्तरिक बाघ व्यवस्थापनका लागि उद्धार केन्द्र बनाइएका हुन् । चितवनको देवनगरमा राखिएका दुई वटा बाघलाई अत्यधिक बढी भिडसामु प्रस्तुत गरेर नियम र बाघको सुरक्षा घेरा तोडिएको आरोप लागेको छ । पर्यटन प्रवर्धनका लागि आयोजित समारोह उद्घाटनका दिन अत्यधिक भिड देखेपछि बाघ आक्रामक बनेको थियो । 

त्यसरी खोरमा राखिएका बाघलाई पर्यापर्यटनसँग जोडेर चिडियाखानामा पनि दर्शकलाई देखाउने गरिएको छ । त्यही अनुसार चितवनमा देखाइएको हो । जुन नियमविपरीत नभएको उहाँले दाबी गर्नुभयो । 

वन्यजन्तु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार उद्धार केन्द्रमा राखिएका बाघलगायतका वन्यजन्तु व्यवस्थापन गर्नु सहज विषय छैन । वन्यजन्तुको उपचार निकै महँगो हुन्छ । उपचारकै लागि पनि कहिलेकाहीँ खर्च हुँदैन । पाल्न पनि समस्या छ । मासु खानकै लागि छुट्टै खर्च निकुञ्जले व्यवस्थापन गर्न नसक्दा बाघलगायतका वन्यजन्तु कमजोर र बिरामी हुन सक्छन् । 

आन्तरिक स्रोत र पर्यटकीय भ्रमणकर्ताबाट उठेको रकमबाट व्यवस्थापन गरिँदै आएको छ । राम्ररी खाना र उपचार पाएमा १५ वर्ष आयु रहेको पाटेबाघको उमेर २० वर्षसम्म लम्ब्याउन सकिने उहाँले बताउनुभयो । सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ पाटेबाघ रहेका छन् । विश्वमा कुल तीन हजार दुई सय हाराहारी पाटेबाघ रहेको अनुमान छ ।