• ८ असार २०८१, शनिबार

सेवा निवृत्तिपछि फेरी लगाउँँदै ध्रुव

blog

राममणि दाहाल

हेटौँडा,बैशाख १ गते । बारा जिल्लाको निजगढ नगरपालिका–११ स्थित रतनपुरका ध्रुव जोगीको अहिले दैनिकी फेरिएको छ । तीन वर्षअघिसम्म नेपाली सेनामा कडा अनुशासनमा रहेका ध्रुवको दैनिकी सेवा निवृत्त भएसँगै फेरिएको हो । पछिल्लो समय ध्रुवले दाजुको फेरी लगाउने काममा साथ दिँदै आउनुभएको छ । त्यसो त गाउँघरमा अलि बढी नै भए पनि सहर बजारमा पछिल्लो समय फेरी लगाउनेको सङ्ख्या र प्रचलन घट्दै गएको छ ।

हेटौँडा बजारको केही क्षेत्रमा भने ध्रुवका दाजुले १२–१३ वर्षदेखि यो कामलाई निरन्तरता दिँदै आउनुभएको छ । सेनाबाट सेवा निवृत्त भएसँगै ध्रुवले आफ्ना दुई दाजुलाई फेरी लगाउने कार्यमा साथ दिँदै आउनुभएको हो । उहाँहरू तीनै जना जिल्लाभित्र नभएर अन्यत्र जिल्लामा वर्षमा दुई पटक फेरी लगाउन पुग्नुहुन्छ । फेरी लगाउनेले बिहानै अँध्यारोमा नै घर घरमा पुगेर मन्त्रोचारणसहित कृष्णसारको सिङ फुक्ने र उज्यालो भएपछि सिदा र दक्षिणा उठाउँदै हिँड्ने प्रचलन रहेको छ ।

फेरी लगाउनेले मन्त्रोचारणसहित कृष्णसारको सिङ फुक्दा भूतप्रेत नलाग्ने, नआउने र घरमा शान्ति हुने विश्वास गरिन्छ । हेटौँडा बजार क्षेत्रका घरमा फेरी लगाएपछि फर्केर आएपछि मन्त्रोचारणसहित सिदा उठाउँदै ध्रुवले बताउनुभयो, “सेनाबाट सेवा निवृत्त भएपछि दाजुलाई साथ दिँदै आएको छु । यी यही जनावरको सिङ बजाउँदै जान्छौँ, फर्कंदा सिदा उठाउँदै आउँछौँ, कति घरमा पुग्छाँै यकिन नै छैन ।”

उहाँहरू मोटरसाइकलमा आएर आफूले विगतदेखि फेरी लगाउँदै आएको घरमा फेरी लगाउने र पछि सिदा उठाएर लैजाने गर्नुभएको छ । “सेनाको जागिर छाडेपछि घरमा बस्दै आएको थिएँ, दाजुले यसै किन बस्नु ? जाउँ भनेपछि दुई वर्षदेखि दाजुसँगै हेटौँडा बजारमा फेरी लगाउँदै आएको छु,” ध्रुवले भन्नुभयो, “अहिले समयको सदुपयोग पनि भएको दुई चार पैसा हात पनि लागेको छ ।” उहाँले अगाडि भन्नुभयो “अरू समयमा घरकै खेती किसानीमा व्यस्त हुन्छाँै । कात्तिक र चैत महिनामा रतनपुरबाट फेरी लगाउन हेटौँडा चढ्छौँ, यसबाट थोर बहुत आम्दानी पनि भएको छ, दाजुलाई साथ र सहयोग पनि भएको छ, संस्कृति र परम्पराको संरक्षणमा पनि सहयोग पुगेको छ ।” ध्रुवका दाजुभाइ फेरी लगाउने कात्तिक र चैत गरी दुई महिनामा हेटौँडामा नै आएर बस्ने गर्नुभएको छ । 

संस्कृतिका जानकार रामचन्द्र आचार्य ‘फुर्सती’ फेरी लगाउने परम्पराको सुरुवात कहिलेबाट सुरु भएको यकिन नभए पनि यो गोरखनाथ सम्प्रदायकाले लगाउने गरेको जानकारी दिनुभयो । उहाँले फेरी लगाउने व्यक्ति दीक्षा लिएको र कान चिरेको हुनुपर्ने भन्दै कात्तिक र चैत महिनामा फेरी लगाउने प्रचलन रहे पनि नभ्याउँदा एक महिनासम्म थप गरी मङ्सिर र वैशाख महिनामा पनि लगाउने प्रचलन रहेको बताउनुभयो । 

आचार्यले भन्नुभयो, “पृथ्वीनारायण शाहले आफ्ना जनताको अवस्था के कसो छ, कस्ता गतिविधि भइरहेको छ भनेर सूचना सङ्कलन गर्नलाई सूचनावाहकका रूपमा फेरी लगाउनेलाई पठाएको भन्ने जनश्रुति पनि सुनिन्छ । फेरी लगाएको घरमा दैवी विपत् नपर्ने र भूतप्रेत नलाग्ने विश्वासले फेरी लगाउने र फेरी लगाउनेलाई टीका लगाइदिएर  सम्मानपूर्वक सिदा र दक्षिणा दिने गरिएको भन्दै उहाँले विगत सम्झनुभयो, “२०२०–२२ साल ताका नामटारमा रहेको हाम्रो घरमा छ/सात जनाको सङ्ख्यामा आएर बास बसेर फेरी लगाउने र सिदा उठाउने गरेका थिए ।” उहाँले विगतमा फेरी लगाउनेलाई लालमोहर लगाएको अधिकारपत्रसहित क्षेत्र तोकेर दिएको निस्सा नै दिने गरेको बताउँदै तोकिएको क्षेत्रभन्दा बाहिर गएर कसैले फेरी लगाएमा मुद्दासमेत गर्ने गरेको बताउनुभयो । नेपाली कागजमा लेखिएको अधिकारपत्रमा तत्कालीन श्री ३ को छाप लागेको निस्सा आफूले पनि देखेको उहाँले बताउनुभयो ।