• २० वैशाख २०८१, बिहिबार

गिट्टी नकुटे चुलो बल्दैन

blog

मार्तडी समाचारदाता

मार्तडी, वैशाख १ गते । स्वामिकार्तिक गाउँपालिका–१, मुक्तिकोटकी बलसेरा विक उमेरले करिब ५० वसन्त पार गर्नुभयो । उमेरले जोखिम काम गर्न समस्या भए पनि उहाँको दैनिकी गिट्टी कुट्नमै जाने गरेको छ । साँझ/बिहान के खाने भन्ने चिन्ताले विकलाई पिरोली रहन्छ, रहर होइन, बाध्यताले बलसेरा गिट्टी कुट्न कर्णाली कोरिडोरमा जानुहुन्छ । कर्णाली नदीको तिरमा आएर गिट्टी फुटाउनु उहाँको दैनिकी नै बनेको छ । बलसेराको हातमा ठेला छन् तर पनि उहाँलाई गरिबीले गिट्टी फुटाउनको अर्को विकल्प दिँदैन । 

गिट्टी नकुटे चुलोमा आगो बल्दैन, आँसु झार्दै भन्नुभयो, “अहिले गिट्टीकै भरमा परिवार पाल्ने गरेको छु । बलसेराको सात जनाको परिवार छ ।” 

बलसेराजस्तै राजु दमाइ पनि गिट्टीकै भरमा आफ्नो जीविका चलाउँदै आउनुभएको छ । बिहानै उठ्नेबित्तिकै दमाइ पनि गिट्टी फुटाउन हातमा हतौडा समाएर कर्णालीको तिरमा लाग्नुहुन्छ । 

“आर्थिक अवस्था कमजोर छ, घरमा धेरै जग्गाजमिन छैन त्यही गिट्टी कुटेर परिवारलाई पाल्ने गरेका छौँ,” उहाँले भन्नुभयो । उमेरले २३ वर्ष पुगेकी राजु दमाईं पनि गिट्टी कुट्दै जीवन व्यतीत गरिराख्नुभएको छ । छोराछोरीलाई पठनपाठन र घरको आर्थिक जोहो धान्न गिट्टी फुटाएरै गर्ने गरेको राजुको भनाइ छ । तीन जनाको परिवारलाई गिट्टी फुटाएरै पाल्ने गरेको उहाँले बताउनुभयो । उहाँका श्रीमान् गाउँमा रोजगारी नभएर भारत गएका छन् । आफू यता गिट्टी फुटाएरै छोराछोरी पालिरहेको दमाईंले दुखेसो गर्नुभयो । राजु जस्तै अन्य महिलाले पनि गिट्टी फुटाएरै परिवार पाल्नुपर्ने बाध्यता रहेको छ । 

जगन्नाथ गाउँपालिकाभित्र पर्ने कर्णाली कोरिडोर निर्माण कार्य सुरु भएदेखि सडक छेउमा गिट्टी फुटाउँदै गरेका महिला जताततै भेटिन्छन् । खेती किसानी गरेर खानका लागि पर्याप्त खेतबारी नहुने र भए पनि विभिन्न प्राकृतिक प्रकोपले उत्पादन नहुने भएपछि स्वामिकार्तिक, जगन्नाथ, हिमालीलगायत गाउँपालिकाका अधिकांश महिला ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । 

स्वामिकार्तिक खापर गाउँपालिकाले नागरिकलाई व्यवसायीमुखी बनाउन स्याउ खेती, पशुपालनलगायत कार्यक्रमलाई प्राथमिकता दिएको पालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार पालिकाको प्रत्येक नागरिकलाई जसले जे गर्न सक्छन् ती नागरिकलाई अनुदान दिने गरेको छ । त्यसै गरी आर्थिक अवस्था कमजोर, विपन्न नागरिकलगायतका व्यक्तिलाई अध्यक्ष रोजगार कार्यक्रममा समेट्ने गरिएको उहाँले बताउनुभयो तर पनि नागरिकमुखी नीति तथा कार्यक्रम नहुँदा गिट्टी कुट्नेका लागि यस्ता कार्यक्रम ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।