• २१ वैशाख २०८१, शुक्रबार

कुम्भ नगरी चतराधाममा दैनिक धार्मिक सत्संग

blog

कुम्भनगरी चतरा धाममा धार्मिक सत्संग हुँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, चैत २९ गते । 
बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको अवसरमा कुम्भ नगरी चतरा धाममा धार्मिक कथा प्रवर्चनहरु सुरु भएको छ । एक महिनासम्म लाग्ने महाकुम्भ मेलामा धार्मिक गुरुहरू द्वारा कथा प्रवर्चनका साथै सत्संग सुरु गरिएको हो ।

कथा सुन्न र कुम्भ नगरिको दर्शन गर्न धार्मिक पर्यटकहरूको दैनिक भिडभाड बढ्न थालेको छ । कुम्भकै अवसरमा रामनन्दाचार्य सेवापीठ चतराधाममा श्रीराम कथा प्रवचन हुँदै आएको छ । रामनन्दाचार्य सेवापीठ परिसरमा चैत २७ गतेबाट राम कथा प्रवचन सुरु भएको हो । 

कुम्भ नगरी परिसरमा दैनिक रुद्री, चण्डी पाठ हुँदै आएको छ भने कौशिकी तट किनारमा साझमा महाआरती समेत हुँदै आएको छ । विश्वकै पाँच स्थानमा मात्र लाग्ने कुम्भ नेपालको एक मात्र स्थान चतराधाममा लाग्ने गरेको छ भने भारतको चार स्थानमा लाग्ने गरेको छ । बाह्र वर्षपछि लागेको महाकुम्भमा स्नान गरे शारीरिक रोग कष्टहरूबाट छुटकारा पाउने धार्मिक विश्वासका साथ मानिसहरू कुम्भमा स्नान गर्न कुम्भ नगरी चतरा धाम आउने गरेका छन् ।

चतराधामको दर्शन गर्न, स्नान गर्न र  राम कथा सुन्न स्थानीय भक्तजनदेखि नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायत विभिन्न देशहरूबाट भक्तजनहरूको बाक्लो उपस्थिति हुने गरेको छ । सेवापीठ परिसरको साधना हलमा राम कथावाचक सुश्री चन्द्रकलासखीबाट राम कथा सुरु भएको छ । बाहिरबाट आएका भक्तजनहरूले कुम्भ नगरी परिसरमा बसेर अनुष्ठानसमेत गर्ने गरेका छन् । 

चैत २७ देखि वैशाख ४ गतेसम्म सञ्चालन हुने राम कथा दैनिक दिउँसो ३ बजे ६ बजेसम्म हुँदै आएको जगद्गुरु श्रीरामनन्दाचार्य सेवापीठले जनाएको छ ।

तीर्थ वराहक्षेत्रको काख चतरा धाममा कुम्भ मेलाको अवसरमा दैनिक धार्मिक सत्संग हुँदै आएको छ । धार्मिक विद्वानहरूबाट दैनिक पाठप्रयण र कथा प्रवचन समेत हुने गरेको कुम्भ व्यवस्थापन मूल आयोजक समितिका सहअध्यक्ष रमेश कार्कीले बताउनु भयो । दैनिक धार्मिक सत्संगमा रमाउन र धार्मिक लाभ लिन धार्मिक पर्यटकहरू आउने गरेका छन् ।

नेपालको इतिहासमै पहिलो पटक श्रीहनुमानजीको अनुष्ठानात्मक सर्वसिद्धिप्रद दुर्लभ महायज्ञ समेत कुम्भ परिसरमा हुने भएको छ । महाकुम्भकै अवसरमा रामनन्दाचार्य सेवापीठ चतराधाममा सङ्कटमोचन हनुमद् महायज्ञ समेत आयोजन हुँदैछ । वैशाख ५ देखि ११ गतेसम्म दैनिक बिहान ६ देखि दिउँसो १२ बजेसम्म सङ्कटमोचन महायज्ञ सञ्चालन हुने जनाइएको छ । भारतको बागेश्वरी धामका पीठाधिश धिरेन्द्रकृष्ण शास्त्री (बागेश्व धाम सरकार) बाट वैशाख ५ देखि ९ गतेसम्म श्रीहनुमद्कथा प्रवचन हुने आयोजक महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले जनाएको छ ।

सङ्कटमोचन महायज्ञमा दिव्य सन्त दर्शन तथा सम्मेलन महायोग, ध्यान साधना र वराहक्षेत्र धामको ऐतिहासिक विवेचना समेत गरिने भएको छ । आध्यात्मिक गुरुका रूपमा चर्चित धिरेन्द्र शास्त्री कुम्भमा हनुमद् कथा प्रवचनका लागि आउने भएपछि थप भक्तजनहरूको आकर्षण हुने बताइएको छ ।

सुनसरीको चतराधाममा एक महिनासम्म लाग्ने नेपालकै एक मात्र कुम्भ मेलाको समुद्घाटन चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको थियो ।