• १९ वैशाख २०८१, बुधबार

उपकुलपति बिदामा बस्दा त्रिविको काम प्रभावित

blog

काठमाडौं, चैत २९ गते । त्रिभुवन विश्व विद्यालयका उपकुलपति केशरजङ्ग बराल बिदामा बस्दा विश्व विद्यालयको सेवा प्रवाहमा समस्या आउन थालेको छ । स्वास्थ्यको कारण देखाउँदै बराल दुई साताअघिबाट बिदामा बस्दै आउनुभएको छ ।

जानकारले बताएअनुसार उहाँ स्वास्थ्यका कारण नभई त्रिविमा रेक्टर र रजिष्ट्रारको नियुक्ति नभएको भन्दै बिदामा बस्नुभएको हो । उहाँले १० दिनअघि नै त्रिविको नयाँ रजिष्ट्रार र रेक्टर नियुक्तिका लागि दुई जनाको नाम त्रिविको कुलपति समेत रहनुभएका प्रधानमन्त्रीसमक्ष पठाउनुभएको थियो । अहिलेसम्म नियुक्ति भने हुन सकेको छैन । 

बराल रेक्टर र रजिष्ट्रारको नियुक्तिपछि मात्र विश्वविद्यालय फर्कने मनसायमा हुनुहुन्छ । 

त्रिविको रजिष्ट्रार र रेक्टरको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिले गर्ने प्रावधान छ । बुझिएअनुसार बराल रेक्टर र रजिष्ट्रारको नियुक्तिपछि मात्र विश्वविद्यालय फर्कने मनसायमा हुनुहुन्छ । 

त्रिभुवन विश्वविद्यालय स्ववियू सभापति श्यामराज ओझा उपकुलपति लामो समय बिदा बस्दा विश्व विद्यालयको काम कारबाही भद्रगोल भएको बताउनुहुन्छ । उपकुलपति बराल स्वास्थ्य समस्याका कारण मात्र बिदामा नबसेको उहाँको भनाइ छ ।  

उपकुलपति रेक्टर र रजिस्ट्रारको नियुक्तिपछि मात्र उहाँ काममा फर्किने बुँझेका छौँ । 

“उपकुलपति नै लामो समय बिदामा बस्दा विश्वविद्यालयको काम कारबाही प्रभावित भएको छ । कर्मचारी काम नै गर्न छाडिसके” उहाँले भन्नुभयो, “उपकुलपति स्वास्थ्य समस्या भएर मात्र बिदामा बस्नुभएको होइन । रेक्टर र रजिष्ट्रारको नियुक्ति नभएका कारणले हो ।”

उपकुलपति बिदामा बस्दा सक्कली सर्टिफिकेटमा हस्ताक्षर नहुँदा विद्यार्थी मर्कामा परेका छन् भने अर्कोतिर विश्वविद्यालय   कार्यसमितको बैठक बसेर निर्णय गर्न नसक्दा समेत काम कारबाही प्रभावित भएको छ । परीक्षा प्रणालीमा भएको बेथितिविरुद्ध पनि उपकुलपतिको चासो नहुँदा विद्यार्थी मर्कामा परेका छन् । 

रजिस्ट्रार र रेक्टरको नियुक्तिपछि मात्र बराल विश्वविद्यालय फर्कने योजना रहेको बुझिएको ओझाले बताउनुभयो । ओझाले भन्नुभयो, “उपकुलपति रेक्टर र रजिस्ट्रारको नियुक्तिपछि मात्र उहाँ काममा फर्किने बुँझेका छौँ, सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकिरहेको छैन ।” 

उपकुलपतिले रेक्टरमा खड्ग केसी र रजिस्ट्रारमा केदार रिजालको नाम सिफारिस गर्नुभएको थियो । शिक्षाविद् बालचन्द्र लुइँटेल उपकुलपतिलाई कामकाज गर्न अप्ठ्यारो भएर नै बिदा बसेको हुनसक्ने आङ्कलन गर्नुभयो । 

उहाँले भन्नुभयो, “उपकुलपतिलाई रजिष्ट्रार र रेक्टरको नियुक्ति नहुन्जेल कामकाज गर्न नै समस्या भयो होला, त्यसैले उपस्थित हुनुभन्दा बिदा बस्नु नै उपयुक्त हुने देख्नुभयो ।” त्रिभुवन विश्वविद्यालयको संस्कार र संस्कृति नै अस्तव्यस्त रहेकाले एक जनाले सबै परिवर्तन गर्छु भनेर सम्भव नरहेको उहाँ बताउनुहुन्छ ।  

विश्वविद्यालयका नियमहरु पनि अप्ठ्यारा छन्, कामकाज गर्न समस्या छ ।

त्यसैले उपकुलपति नियुक्त भएपछि उत्साहजनक काम हुन नसकेको शिक्षाविद् लुइँटेल बताउनुहुन्छ । विश्वविद्यालयमा नियमहरू पनि अप्ठ्यारो भएका कारण उपकुलपति एक्लै चाहेर मात्र विश्वविद्यालयको सुधार हुन नसक्ने उहाँको भनाइ छ । त्यसैले उहाँले रजिस्ट्रार र रेक्टरको नियुक्ति भएपछि टिम बनाएर मात्र काम गर्न खोजेजस्तो देखिएको उहाँले बताउनुभयो ।

शिक्षाविद् लुइँटेलले भन्नुभयो, “विश्वविद्यालयका नियमहरू पनि अप्ठ्यारा छन्, कामकाज गर्न समस्या छ । उपकुलपतिले काम गर्ने टिम भएपछि मात्र काम गर्छु भन्ने सोच बनाउनु भएको हुनसक्छ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।