दोलखा समाचारदाता
दोलखा, चैत २९ गते । दोलखाको शैलुङ गाउँपालिका–८, फुस्रामाटामा मुलुककै ठुलो विज्ञान पार्क निर्माण हुने भएको छ ।
शैलुङ गाउँपालिकाको वडा नं. ८ र मेलुङ गाउँपालिकाको वडा नं. १ सिमानामा निर्माण हुने यो पार्क निर्माणको डिपिआर तयार भएको वडा नं. ८ का वडाध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्क निर्माणका लागि सामुदायिक वनले ५० रोपनी जग्गा उपलब्ध गराएको छ । बागमती प्रदेश सरकारले २५ लाख रुपियाँ खर्चेर डिपिआर निर्माण गरिदिएको छ ।
डिपिआर अनुसार विज्ञान पार्क निर्माणमा २१ करोड ७२ लाख रुपियाँ लागत लाग्ने देखिएको छ । डिपिआर निर्माणमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले प्राविधिक सहयोग रहेको छ । विज्ञान पार्क निर्माणमा पनि प्राविधिक सहयोग रहने छ । पार्क विज्ञान तथा सांस्कृतिक झल्कने हुने छ ।
स्थानीय स्रोतसाधनलाई प्राथमिकता दिइने पार्कमा बिजुलीको ‘हब’ जस्तै रहेको दोलखाका माथिल्लो तामाकोसी, चर्नावती, सिप्रिङखोला, जिरीलगायतका दर्जनौँ जलविद्युत् र आर्कमिडिजलगायतका सिद्धान्तबारे खेल्दै बालबालिकाले अवधारणा बनाउन सक्ने छन् । विज्ञान पार्क निर्माणका लागि बागमती प्रदेशसँग बजेट माग्ने तयारी भइरहेको छ ।
यता भीमेश्वर नगरपालिकाले वडा नं. ५ को बर्खेको डाँडापारि भन्ने सामुदायिक वनमा विज्ञान पार्क बनाउन सुरु गरेको भए पनि बजेट अभावले योजना थन्किएको छ । नगरका इन्जिनियर रामजी थापाले भन्नुभयो, “नगरको २० लाख रुपियाँमा घेरबार गरिएको छ । डिपिआर तयार भएको छ । पार्ककै आफ्नै नाममा जग्गा हुनुपर्ने प्रावधानले कतैतिरबाट पनि बजेट नआउँदा निर्माण अघि बढ्न सकेन ।”