• १८ वैशाख २०८१, मङ्गलबार

कर्णालीको रैथाने उत्पादनमा आकर्षण

blog

काठमाडौँ, चैत २९ गते । कर्णालीमा उत्पादन भएको रैथानी बालीको उत्पादन खरिदमा ग्राहकको आकर्षण बढ्दै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा उत्पादन भएको रैथाने बाली खरिद गरेर काठमाडौँमा ल्याएर बिक्री गरेको अर्गानिक उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको हो ।

 हिमाली  र उच्च पहाडी जिल्लामा उत्पादन भएका खरिद गरेर बिक्री गर्ने कम्पनीको योजना अनुरूप खरिद गरेर उपत्यकामा ल्याएर बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्य अनुरूप वितरण गरिएको कम्पनीले जनाएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय थापाथलीबाट सिमी, उवा, चिनो/कागुनो ल्याएर बिक्री सुरु गरिएको हो । कार्यालयकी प्रमुख ज्ञानु थापाले  सिमी प्रतिकेजी २४०, उवा प्रतिकेजी दुई सय, चिनो/कागुनो प्रतिकेजी २६० रुपियाँमा बिक्री सुरु गरिएको जानकारी दिनुभयो । 

 हुम्लाबाट तीन हजार ४६९ केजी, चिनो/कागुनो चार हजार आठ सय केजी र उवा एक सय केजी  ल्याएर वितरण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । चिसो ठाउँमा उत्पादन भएको अर्गानिक उत्पादनप्रति ग्राहकको आकर्षण बढ्दै गएको कार्यालयले जनाएको छ । 

हुम्लाबाट एक हजार केजी सिमी, दुई हजार पाँच सय केजी चिनो/कागुनो, कोदो दुई हजार केजी ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षमा रैथाने बाली खरिद गर्नका लागि सरकारले ५० लाख रुपियाँ र कम्पनीले आन्तरिक स्रोतबाट नौ करोड रुपियाँ विनियोजन गरिएको छ । सोही रकमले कर्णालीको रैथाने उत्पादन खरिद गरेर बजारमा वितरण गरिएको छ । 

हुम्लाको सिमकोट गाउँपालिकाले किसानले उत्पादन गरेका सिमी, उवा, कागुनो/चिनो, उवा खरिद गरेर  कम्पनीमार्फत पठाएको छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले ३० क्विन्टल खरिद गरी पठाइसकेको जानकारी दिनुभयो । थप ३५० क्विन्टल रैथाने बाली खरिद गरेर पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । किसानबाट खरिद गरेर वितरण गर्न थालेपछि उत्पादनमा आकर्षित भएको उहाँले जानकारी दिनुभयो ।  

कम्पनीले प्रत्येक वर्ष कर्णालीको अर्गानिक उत्पादन खरिद गरी उपत्यकामा ल्याएर वितरण गर्दै आएको छ । अर्गानिक उत्पादनको प्रवर्धनसँगै बजारीकरण गरेर स्थानीय उत्पादनमा जोड दिने गरिएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका जिल्लामा जैविक खेतीको संरक्षण प्रवर्धन, प्रशोधन, प्याकेजिङ गर्न मिल स्थापना गर्न कम्पनीसँग सम्झौता भएको छ ।

प्रदेश सरकारको सहयोगमा मिल स्थापना गरी उत्पादनको प्रशोधन, प्याकेजिङ गरेर बजारमा पठाउने योजना रहेको कम्पनीले जनाएको छ । मिल सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा कर्णालीमा उत्पादन हुने रैथाने बालीको नियमित तवरबाट स्थानीय तहसँग समन्वय गरी खरिद गरिएको छ ।

 नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसार खाद्यान्न सङ्कलन गरी सोको प्याकेजिङ, लेबलिङ तथा कर्णाली प्रदेशको मूल्यवान् लोगोसमेत उल्लेख गरी ब्रान्डिङ गरेर सामान बजारमा पठाइने छ । 

कम्पनीले  प्रदेश सरकारसँग कोदो आठ हजार ६६०, कागुनो ३३८, चिनो ६८७, जुनेलो दुई, फापर ७६२, उवा ६१९, सिमी चार हजार ४७० र मार्सी धान तीन हजार ८८६ गरी कुल जम्मा १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने सहमति भएको थियो ।  कम्पनीले दुर्गम तथा सुगम जिल्लामा सुपथ मूल्यमा खाद्यान्न वितरण गर्दै आएको छ ।