• १९ वैशाख २०८१, बुधबार

२०८० मा नाट्यशाला : रङ्गकर्मी व्यस्त, नाटकघर मस्त

blog

काठमाडौँ, चैत २८ गते । नेपाली नाटकघरको यो वर्ष निकै उत्साहजनक रह्यो । रङ्गकर्मीहरू वर्षभरि नाटक मञ्चनमा सक्रिय देखिए । धेरैजसो थिएटर काठमाडौँ केन्द्रित भएकाले नाटक पनि धेरै मञ्चन भए । नाटकका कथामा विविधता देखियो । मण्डला, सर्वनाम, शिल्पी, कौसी, आरोहण गुरुकुलको कुञ्ज, ओजेस, पुरानोघर, शैली, स्टुडियो नियमित जस्तै नाटक मञ्चन भए । यस वर्ष मञ्चन भएको ‘एउटा सपनाको अवसान’, ‘हिउँभन्दा चिसो’, ‘दमिनी भिर’, ‘मासिन्या’ जस्ता नाटकहरूमा दर्शकको भरिभराउ उपस्थितिले रङ्गमञ्चलाई अझ माथि उठाउन मद्दत ग¥यो । 

कलाकार तथा नाटक निर्देशक आशान्त शर्माको अनुभवमा यो वर्ष अत्यन्त उर्वर रह्यो । कथावस्तु, प्रस्तुति तथा अभिनयका हिसाबले पनि केही राम्रा नाटक मञ्चन भएको उहाँले बताउनुभयो । अहिले नाटक जेनतेन नाटकघरको खर्च उठाउन सक्नेसम्म भएका छन् । दर्शक प्रायः पुरानै छन् । अहिले नाटक चाहना नभएर पेसा भएको शर्माको भनाइ छ । 

रङ्गकर्मी विजय बराल नाटकका लागि २०८० साल सफल नै ठान्नुहुन्छ ।  गाउँघरका कथा, परिवेश र घटना भएका नाटक दर्शकको रोजाइमा परेको उहाँले बताउनुभयो । केही नाटक साहित्यका पुस्तकबाट पनि साभार गरियो भने केही चलचित्रका कथाबाट पनि उतारियो । स्व. राजेन्द्र पराजुलीको कथासङ्ग्रह ‘जन्तरमन्तर’ मा समावेश कथा ‘मासु बेच्ने केटो’ पनि यसै वर्ष मञ्चन भएको थियो । नाटकको निर्देशन रङ्गकर्मी सङ्गीता उराँवले गर्नुभएको थियो । त्यस्तै चेतन आङथुपोको ‘झोडा’, चे शङ्करको ‘गङ्गालाल’ लगायतका नाटक पनि यसै वर्ष मञ्चन भए । यस वर्ष ‘विडिङ एल्बम’, थिएटर भिलेजको ‘त्रयम’ ‘बोधिसत्व’, ‘लेट्स अभिनय गरौँ’ लगायतका नाटकले राम्रो चर्चा बटुल्यो ।

सिनामङ्गलस्थित ‘पुरानो घर’, ‘चे इज ब्याक’, ‘मोन्टाज’ र ‘घरको माया’ नाटक मञ्चन भयो भने यस वर्ष ‘माक्र्स फर्किए’, ‘आधा अपुरो’, ‘काल’ लगायतका नाटक मञ्चन भएका छन् । टेकुस्थित कौसी थिएटरमा वर्षको अन्त अन्तमा नाटक ‘उबुर उबुर टिक्की’ को मञ्चन भर्खरै सकिएको छ । यसबाहेक यस वर्ष सर्वनाममा ‘द डिपार्चर’, ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटक मञ्चन भएका थिए ।

राजधानीभित्र मात्र नभएर बाहिरका थिएटरमा समेत रङ्गकर्मीको उत्साहपूर्ण उपस्थिति देखिएको छ । इलामस्थित चुलाचुली रङ्गमञ्च समूहले मौलिक कथामा नाटक ‘झोडा’ गरे भने झापास्थित कदम थिएटरले नाटकहरू मञ्चन भए ।  थिएटरले यस वर्ष ‘लङ्ग टाइम नो सी’, ‘मनचिन्ते फिरन्ते’, ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चन भएको रङ्गकर्मी सिजन दाहालले बताउनुभयो । 

पोखरास्थित ‘पोखरा थिएटर’ मा पनि यस वर्ष विभिन्न नाटक मञ्चन भएको थिएटरका संस्थापक तथा रङ्गकर्मी परिवर्तनले बताउनुभयो । उहाँका अनुसार ‘रिफन्ड’, ‘धनिरामको गोरु’, ‘१२ दुर्वासा’ लगायतका नाटक मञ्चन भए । उहाँले भन्नुभयो, यो वर्ष हामी रङ्गकर्मीका लागि निकै उत्साहजनक रह्यो । हामीले नाटकलाई माया गर्ने धेरै दर्शक पनि कमायौँ र राम्रो नाटक पनि मञ्चन ग¥यौँ ।  थिएटरले पाँचौँ संस्करणको विद्यालयस्तरको नाटक प्रदर्शन पनि यसै वर्ष पूरा गरेको उहाँको भनाइ थियो । यसै वर्ष विराटनगरस्थित आरोहण गुरुकुलको आयोजनामा चैत २३ गतेदेखि सुशीला कोइराला नाटकघरमा नाटक ‘सत्य हरिश्चन्द्र’ को पहिलो प्रदर्शन भएको थियो ।  वर्ष २०८० रङ्गमञ्चका लागि उत्साहजनक वर्षकै रूपमा लिन सकिन्छ । यस वर्ष थिएटरपिच्छे नयाँ नयाँ नाटक मञ्चन भए । सङ्ख्यागत हिसाबमा नेपाली तथा विदेशी पुस्तकमा आधारित नाटकहरू यस वर्ष बढी मञ्चन भए ।