• २२ मंसिर २०८१, शनिबार

प्रदूषणको जोखिममा बालबालिका र दीर्घ रोगी

blog

काठमाडौं, चैत २९ गते। पछिल्लो समय प्रदूषण बढ्दै गएको छ। ग्रामीण बस्तीमा भन्दा प्रदूषण सहरी क्षेत्रमा बढी देखिएको छ।

स्वीट्जरल्याण्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयर्सले काठमाडौंलाई दोस्रो वायु अस्वास्थ्य सहरको सूचीमा सूचीकृत गरेको छ। काठमाडौंको १५० भन्दामाथि एक्यूआई रहेको छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु स्वास्थ्यका लागि सामान्य मानिन्छ। एक्यूआई १०० भन्दा माथि पुगेमा त्यस्तो वायु अस्वस्थ मानिन्छ।

छातीरोग विशेषज्ञ डा= प्रकाश पौडेल विभिन्न प्रकारका धुँवा र धुलोबाट हुने प्रदूषण  हानिकारक हुने बताउनुहुन्छ। 

उच्च वायु प्रदूषणले विशेषगरी दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, नवजात शिशु, गर्भवती लगायतको स्वास्थ्यको अधिकारमा गम्भीर असर पर्ने उहाँ बताउनुहुन्छ। 

उहाँका अनुसार अस्वस्थ्यकर प्रदूषणले स्वास्थ्यमा सामान्यदेखि जटिल स्वास्थ्य समस्या निम्तने गर्छ। 

चिकित्सकका अनुसार प्रदूषणको जोखिममा दीर्घ रोगका बिरामी, वृद्ध, वृद्धा, १६ वर्ष मुनीका बालबालिका, गर्भवती, मुटुका दीर्घरोगी, दमका दीर्घरोगी बढी जोखिममा हुन्छन्। 


वायु प्रदूषणका कारण विश्वमा प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने अध्ययनले देखाएको छ। नेपालमा प्रत्येक वर्ष ४२ हजारभन्दा बढी नागरिकले वायु प्रदूषणका कारण मृत्यु हुने राष्ट्रिo मानव अधिकार आयोगको तथ्यांकमा उल्लेख छ। काठमाडौं उपत्यकामा मात्रै पाँच हजारको मृत्यु प्रदूषणको कारण हुन्छ।  

स्वास्थ्यमा प्रदूषणको असर 

डा. पौडेलका अनुसार स्वास्थ्य मानिसलाई घाँटी दुख्ने, चिलाउने, घाँटी खसखस गर्ने, आँखा पोल्ने, जस्ता समस्या निम्तने गर्छन्। उहाँ भन्नुहुन्छ, “प्रदूषणले घाँटी, आँखा चिलाउने, सास फेर्न गाह्रो हुने, छाला, आँखा घाँटीमा एलर्जी हुने जस्ता तत्कालीन समस्या निम्तने गर्दछन्। ”

डा= पौडेलका अनुसार उच्च प्रदूषणले दीर्घकालीन फोक्सोका रोग, मुटुरोग मस्तिष्कघात , श्वासप्रश्वासको सङ्क्रमणको जोखिम बढ्ने गर्छ। फोक्सो जालो पर्ने, फोक्सो खराब बनाउने, धुलोमा धेरै बस्ने महिलामा स्तन क्यान्सरको जोखिम हुने पौडेलको भनाइ छ। डा.पौडेलका अनुसार औद्योगिक क्षेत्रबाट निस्किएको धुँवामा हानिकारक केमिकल हुने हुँदा रक्त क्यान्सरको जोखिम हुन्छ।

उहाँ भन्नुहुन्छ, “लामो समयसम्म प्रदूषणमा बस्ने मानिसलाई फोक्सोको क्यान्सरको जोखिम हुन्छ भने गर्भको बच्चाको विकासमा असर हुन्छ।”

नाइटोजन अक्साइड केमिकलले स्ट्रोक गराउनसक्ने डा= पौडेललको भनाइ छ। धुलोले नसाका नली साँघुरो हुँदा रक्तचाप बढ्ने उहाँको भनाइ छ। प्रदूषणको समयमा बालबालिकालाई घर बाहिर खेलाउने र डुलाउने काम नगर्न उहाँको सुझाव छ। 

उहाँ भन्नुहुन्छ, “बालबालिकाको विकासमा असर पुग्नुका साथै श्वासप्रश्वासमा दीर्घ समस्या बढ्ने गर्छ।”


प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्स रोग लाग्न सक्ने हुँदा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो। 

प्रदूषण स्वास्थ्यका हिसाबले हानीकारक भएकाले सकेसम्म प्रदूषणमा ननिस्कन चिकित्सकको सुझाव छ। प्रदूषमा निस्कनै परेमा अनिवार्य मास्क र चस्माको प्रयोग गर्न डा.पौडेलले सुझाव दिनुभयो। 

धुलो धुँवामा काम गर्ने मानिस जोखिममा हुने हुँदा यस्ता मानिसले प्रदूषणमा घर बाहिर निस्कँदा मास्क र चस्माको प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले विकास निमार्णका काम गर्दा प्रदूषण नबढ्ने उपाय अपनाउनुपर्नेमा जोड दिनुभएको छ। यो विषयमा सरकार सचेत हुनुपर्ने उहाँको भनाइ छ।   


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।