• १९ वैशाख २०८१, बुधबार

उडानभित्र सुन तस्करी

blog

काठमाडौँ, चैत २५ गते । तुलनात्मक रूपमा हास्य प्रदान चलचित्रलाई संसारभरि दर्शकले नै धेरै रुचाउने गरेको पाइन्छ । बलिउडमा मात्र नभएर हलिउड र कलिउडमा पनि यो विधाले दर्शकको मन जित्न सफल भएको छ । पैसा कमाउनेदेखि लिएर ठगी गर्नेका विषय समेटिएका हास्य कथा चलचित्रका पर्दामा आइसकेका छन् । 

हसाउने काममा नायिकाभन्दा नायकको सङ्ख्या बढी भएको अनुमान गरिन्छ तर यस पटक हसाउने काममा सधैँ नायक अगाडि हुने गर्छन् भन्ने कुरालाई तब्बु, करिना कपुर खान र कृति सेनन अभिनीत चलचित्र ‘क्रु’ ले गलत साबित गरिदिएको छ । चलचित्रले हाँसो, प्रेम र रोदनको सम्मिश्रणले भरिएको छ । तब्बु, करिना र कृतिसँगै चलचित्रमा दिलजित दोसाँझ पनि देखिनुभएको छ । जसको हसाउने शैलीले दर्शकलाई झन् धेरै उत्साहित बनाएको छ ।

कथा तीन एयर होस्टेस गीता सेठी ‘तब्बु’, दिव्या राना ‘कृति सेनन’ र जास्मिन कोहली ‘करिना कपुर खान’ को वरिपरि घुमेको छ । जो ऋणमा डुबेको कोहिनूर एयरलाइन्समा विगत छ महिनादेखि तलबबिना काम गरिरहेका छन् । आफ्नो बक्यौता तलब छिट्टै आउने आशामा उनीहरूको जीवन कुनै न कुनै रूपमा चलिरहेको हुन्छ । उडानभित्र रहेका व्यापारी राजवंशीसँग १२ किलो सुन रहेको हुन्छ तर अचानक राजवंशीको उडानमै मृत्यु हुन्छ । त्यसपछि चलचित्रमा अनेकन मोड आउँछन् । तीनै जना मिलेर राजवंशी र सुन प्रहरीलाई बुझाउँछन् तर पछि जास्मिनले कम्पनी डुबेर कम्पनीका मालिक विजय वालिया विदेश फरार भएको थाहा पाउँछिन् । यी कुरा आफ्नो दुई साथीलाई बताएपछि उनीहरूलाई कोहिनूरका मानव संसाधन प्रमुख मनोज मित्तलले आफ्नो कम्पनीकोे आडमा विदेशमा सुन पठाउने काम गर्ने गरेको कुरा पनि थाहा पाएको चलचित्रमा देख्न सकिन्छ । तीन जनाको मनमा पनि पैसा कमाउने भूत चढ्छ र सुरु हुन्छ सुन पचाउने खेल । एक दिन प्रहरीले सुन तस्करीमा यी तीन दलका सदस्यको हात रहेको खबर पाउँछ र अनुसन्धानको थालनी हुन्छ । यस चलचित्रका निर्देशक ए कृष्णले यसअघि ‘टिभिएफ ट्रिपलिङ’ पनि निर्देशन गर्नुभएको थियो । जुन दर्शकमाझ निकै लोकप्रिय बनेको थियो । ‘क्रु’ को कथानक शैली एकदमै बेग्लै र फरक रहेको दर्शकले महसुस गर्न सक्छन् । निर्देशकले तब्बु, करिना र कृतिबाट उत्कृष्ट काम लिएका छन् । चलचित्रका गीत उत्कृष्ट छन् । विशेष गरी ‘चोली के पिछे’ गीत अचम्मको छ, जसलाई धेरै दर्शकले मन पराइरहेका छन् । समग्रमा उत्कृष्ट हास्य विधाको चलचित्रको खोजीमा रहेका दर्शकलाई यो चलचित्रले भरपुर मनोरञ्जन दिन सक्ने दाबी गर्न सकिन्छ ।