• १२ साउन २०८१, शनिबार

सुनसरीको भुटाहा तनावग्रस्त, ५१ राउण्डभन्दा बढी हवाई फायर

blog

शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा । तस्बिर : गोरखापत्र

सुनसरी, चैत २३ गते । शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।

दिउँसो १ बजेपछि सुरु तनाव दोहोरो झडपमा परिणत भएको छ । तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भए पनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएको छ ।

प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्‍याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।


अश्रुग्यास र हवाई फायर के कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले निषेधाज्ञाका बाबजुद भिड नियन्त्रणमा आउन नसकेको बताउनुभएको छ । उहाँले अवस्था नियन्त्रणमा लिन हरसम्भव प्रयास भइरहेको बताउनु भयो । 

यसैबिच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ । दलीय प्रतिनिधिसहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भिडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवाला समक्ष आग्रह गरेको छ । कोशी प्रदेशका तीन वटै सुरक्षा निकायका डीआइजीसमेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ ।

जारी तनाव र प्रदर्शन दक्षिणी भेग हुँदै आसपासका शहर बजारमा समेत बढ्दै गएको छ । दुई समुदायका प्रदर्शनकारी आपसमा भिडेपछि भुटाहा बजार सँगै गौतमपुर, देवानगञ्जलगायत दक्षिणी भेगका अधिकांश क्षेत्र तनावग्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म सुनसरी प्रशासनले हरिनगरा गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वडालाई लक्षित गरी निषेधाज्ञा जारी गरेको छ । आवश्यकता अनुसार दायरा बढाउने वा थप कडाइको आदेश गर्नसक्ने जनाएको छ । भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए । घाइते जीवन मेहता धरानमा उपचाररत हुनुहुन्छ । उहाँको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए ।


मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उच्छृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ ।

घटना विषयमा हिन्दु र मुस्लिम दुवै पक्षले आफ्नो पक्षको अडान राख्दै आएका छन् । जसले आज दई समुदायबिच झडपको अवस्था निम्त्याएको हो । घटनामा बाहिरी जिल्लाबाट मानिस आउन प्रशासनले कडाइ गरे पनि विरोधमा सामेल हुन आउनेको सङ्ख्या बढ्दै गएको छ । 

यो पनि पढ्नुहोस

हरिनगरामा झडप, दुई घाइते

सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु