• १० मंसिर २०८१, सोमबार

नब्बे प्रतिशत खेतमा सिँचाइ पुर्‍याएका छौँ

blog

सखुवानानकरपट्टी सिराहा जिल्लाको पूर्वी भेगमा पर्ने गाउँपालिका हो । महदेवा पोर्ताहा, सोठियाइन, मौवाही इटहर्वा र सखुवानानकरपट्टी गाउँ विकास समिति मिसाएर पाँच वडा बनाइएको यस गाउँपालिकामा ६७ प्रतिशत किसान छन् । यो गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट निर्वाचित केदारनाथ यादवको दोस्रो कार्यकाल चलिरहेको छ । यादवसँग गोरखापत्र दैनिकका लहान समाचारदाता जीवछ यादवले गर्नुभएको कुराकानीको सारसङ्क्षेप : 

नमुना गाउँपालिका बनाउने प्रतिबद्धताले दोस्रो पटक निर्वाचित भएपछि त्यो अभियान कहाँ पुगेको छ ? 

नमुना गाउँपालिका बनाउने अभियानलाई सफल बनाउन निरन्तर लागेका छौँ । अभियानमा सामूहिक प्रयास र उपयुक्त माहोल आवश्यक पर्दछ । यसका लागि अध्यक्षको नाताले निरन्तर सव्रिmय रहेको छु । विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधि वडाध्यक्षहरूसँग साझा धारणा बनाएर अघि बढिरहेको छु । शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक न्यायको क्षेत्रमा पनि सन्तोषजनक रूपमा काम अघि बढिरहेको छ । कहिले सहज वातावरण बन्छ, कहिले असहज वातावरण हुन्छ । अनुकूलता र प्रतिकूलतालाई उपयुक्त माहोल बनाएर अघि बढ्दै लक्ष्य प्राप्तितर्फ उन्मुख भइरहेका छौँ । 

शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य के के गर्नुभयो ? 

आफू शिक्षण पेसा छाडेर ३६ वर्षकै उमेरमा २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा चुनिँदा चुनावमा शिक्षामा परिवर्तनका लागि काम गर्ने प्रतिबद्धता गरेको थिएँ । चार वटा मावि र १६ वटा आधारभूत सामुदायिक विद्यालयको शैक्षिक, भौतिक विकास र शैक्षिक उत्थान गर्न काम भएको छ । विकट मानिएको वडा नं. १ मा रहेको जनता आधारभूत विद्यालय माविमा प्राविधिकधार कक्षा सञ्चालन गरियो । वडा नं. ३ स्थित माध्यमिक विद्यालय महदेवा पोर्ताहा र वडा नं. ५ स्थित जनता माध्यमिक विद्यालय महेश्वरीको भौतिक र शैक्षिक विकासले गाउँपालिकाको गौरव बढाउने काम भएको छ । शिक्षा शाखालाई सव्रिmय बनाएर शैक्षिक सुधारको नवीनतम विधिहरू प्रयोग गरी शिक्षक र अभिभावकलाई विद्यालयप्रति जिम्मेवार बनाउने काम भएको छ । पुरानो विद्यालय मनेलाल जनता माध्यमिक विद्यालयको अवस्थामा सुधार ल्याउन प्रयासरत छु । आधारभूत विद्यालयहरूको अवस्थामा सुधार ल्याउन बालविकास कक्षालाई बालमैत्री बनाउन भरोसायोग्य काम तीव्र गतिमा भइरहेको छ  । 

माध्यमिक परीक्षा (एसइई) को परीक्षा केन्द्रको विषयमा आन्दोलन नै गर्नुपर्ने अवस्था किन आयो ? 

अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो । जनता माध्यमिक विद्यालय महदेवा पोर्ताहाको परीक्षा केन्द्र २० किलोमिटर उत्तर लहान नगरपालिका–१५, स्थित सगरमाथा माध्यमिक विद्यालय ढोडनामा सार्दा यति टाढा कसरी विद्यार्थी गएर परीक्षा दिने भन्ने चुनौती र समस्या खडा भएकै थियो । विद्यार्थीले सडकमा आएर विरोध प्रदर्शन गरे । अभिभावकले जिल्लामा गएर दबाब सिर्जना गर्नु प-यो । पछि सही आवाजलाई सुनेर पायक पर्ने विद्यालयमा परीक्षा केन्द्र कायम भयो । आउने दिनमा यस्तो कमजोरी नहोस् । परीक्षा केन्द्रहरू कायम गर्दा पायक पर्ने विद्यालयमा राख्न सम्बन्धित सरोकारवाला निकायसँग हाम्रो आग्रह छ । 

स्वास्थ्य सेवाका लागि के के काम भएको छ ? 

स्वास्थ्य क्षेत्रमा पनि राम्रै काम भइरहेको छ । वडा नं. १ र वडा नं. ५ मा बर्थिङ सेन्टर स्थापना गरेर प्रसूति सेवा दिइरहेको छ । गाउँपालिका स्तरीय अस्पताल निर्माणको कार्य अघि बढिसकेको छ । विपन्न दलितलाई स्वास्थ्य उपचारका लागि स्वास्थ्य शाखाबाट सहयोग भइरहेको छ । स्वयंसेविकाहरूलाई सक्रिय बनाउने, उच्च मनोवलका साथ काम गर्न स्रोतसाधनले भ्याएसम्म परिणाम दिइने गरी काम भएकोमा सन्तुष्ट नै छौँ । 

किसानका लागि सेवासुविधा हुने काम के के भएका छन् ? 

किसानमुखी काम पनि भएका छन् । ९० प्रतिशत खेतीयोग्य जमिनमा सिंचाइ पु-याउने काम भइसकेको छ । बाँकी जमिनमा पनि सिँचाइ पु-याउने गरी काम सम्पन्न गर्ने तरखर छ । सक्रिय कृषि सहकारीको माध्यमबाट किसानलाई गुणस्तरीय बिउ, मलखाद र बजारको व्यवस्थापन, नेपाल राष्ट्रिय कृषक महासङ्घको सहयोगमा पाँच वटै वडामा विपन्न दलितलाई करार खेती गर्ने कार्यव्रmम प्रभावकारिताका साथ अघि बढेको छ । 

पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकाल कति अनुकूल र प्रतिकूल भइरहेको छ ? 

पहिलो कार्यकाल र दोस्रो कार्यकालका गतिमा फरक देखिएकै हो । पहिलो कार्यकालमा आफू जितेको दलको पूर्ण बहुमत हुँदा काम गर्न कहिल्यै अप्ठ्यारो भएन । समयमा परिषद् सम्पन्न भयो । विकासका काम तीव्र गतिमा अघि बढिरह्यो । दोस्रो कार्यकालमा बहुमत नहुँदा जनपक्षीय काम गर्दा पनि समयमा काम गर्न नसकिरहेको चुनौती खडा भइरहेको छ । समग्रमाभन्दा पहिलो कार्यकाल अवसर थियो भने दोस्रो कार्य चुनौतीका रूपमा रहेको छ । 

पर्यटन क्षेत्रमा के कस्ता काम भएको छ ? 

पालिकाको वडा नं. ५, इटहर्वास्थित बलान नदीको ठुलो खुला ठाउँमा परापूर्वकालदेखि विवाहपञ्चमीको अवसरमा ठुलो मेला लाग्ने गरेको छ । यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न तीन करोडको लागतमा काम सुरु भएको छ । यसको महिमा विस्तार गर्न र पूर्वाधारहरू तयार गर्ने सवालमा २८ किलोमिटर रिङरोडको अवधारणा अघि बढाइएको छ । 

बलान नदीले वडा नं. ४ र ५ मा गरिरहेको कटान समस्या समाधानका लागि के भइरहेको छ ?

बलान नदीले अहिलेसम्म दुई वडाको पाँच सयभन्दा बढी बिघा उर्वर जमिन कटान गरिसकेको छ । गाउँपालिकाको बजेटबाट नियन्त्रण सम्भव नभएकाले यसका लागि प्रदेश र सङ्घीय सरकारसँग पटक पटक गुहार माग्दा राष्ट्रिय योजना आयोगको सहयोगमा दस करोड रुपियाँको बजेट आउनेमा आशावादी छौँ ।  

सामाजिक न्यायतर्फ के काम भइरहेको छ ? 

सामाजिक न्यायका लागि उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समिति प्रभावकारी देखिएको छ । न्यायिक समितिमा आइपुगेका मुद्दाको छिनोफानो गरेर सामाजिक न्याय दिलाउन सफल रहेको छ । सामाजिक माहोल बनाउन शान्तिपूर्ण रूपमा अघि बढ्दा नै भौतिक विकास सार्थक रूपमा अघि बढ्ने भएकाले यस क्षेत्रमा पनि अपेक्षाकृत राम्रै काम भएको छ । भौतिक विकास र सामाजिक न्याय भएमात्रै नमुना गाउँपालिका बन्ने हाम्रो साझा धारणा हुनु सकारात्मक पक्ष स्थापित हुँदै गएको छ ।