• १३ कात्तिक २०८२, बिहिबार

धान थन्क्याउन नपाउँदा किसान चिन्तित

blog

महोत्तरी, कात्तिक १३ गते । भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले चिन्तित बनाएको हो ।

महोत्तरीसहितका मधेशका जिल्लामा मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएर किसानको चिन्ता बढेको हो । खास गरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् ।

“धान खेतमा पाकेर पहेंँलपुर छ, चाडवाड सकेर काटौंँला, थन्क्याउँला भनियो, पानी पो पर्न थाल्यो”, भङ्गाहा-५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम बाँतर भन्नुहुन्छ, “पानी पर्दापर्दै काट्न पनि भएन, धान झरेर नोक्सान हुनेभयो ।” हिउँदे धान काटेर केही दिन निहिनमा सुकाउनुपर्नेमा यो पानीले काम बिगारेको बाँतर बताउनुहुन्छ ।

महोत्तरीसहितका मधेशका उत्तरी क्षेत्रमा चाँडै पाक्ने (कात्तिक पहिलो साताभित्र) धान लगाइन्छ । उत्तरी क्षेत्रको माटो बलौटे हुँदा चाँडै रुखिने हुन्छ । यसैले गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइने यस भेगमा चाँडो पाक्ने धान लगाइने गरिन्छ । यसपालि बर्खाकालमा लामो समय सुक्खा पर्दा धान रोपाइँ ढिलो भएर यस भेगमा पाक्ने समय कात्तिक दोस्रो साता पुगेको हो ।

महोत्तरीका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा अहिले धान पाकेर पहेंँलपुर छ । अधिकांश किसान धान काट्ने मेसोमै लागेका बेला अहिले पानी परेपछि यो काम बिथोलिएको हो । उत्तरी क्षेत्रमा धान पाकेर पहेंँलपुर भए पनि मध्य र दक्षिणी क्षेत्रमा भने मङ्सिरमा पाक्ने धान बढी रोपिँदा परेको पानीले त्यति बिगारी नहालेको सो भेगका किसान बताउँछन् । 

“अहिले पानी त चाहिएको थिएन, तर हाम्रोतिर धान पाक्न अझै दुई साता लाग्छ, त्यसैले अहिले परेको पानीले धेरै बिगार नगर्ला”, रामगोपालपुर-२ महानपुरका किसान कादिर हुसैन भन्नुहुन्छ, “चोटिलो पानी पर्यो भने बोटबाटै धान झर्ने डर छ ।” जिल्लाको उत्तरी क्षेत्रका गौशाला, भङ्गाहा र बर्दिबास नगरपालिकाका बस्तीमा भने अहिले धान काट्ने, निहिन सुकाउने, चुट्ने र थन्क्याउने चटारोकैबीच पानी परेको छ ।

अहिलेको पानी पनि मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमै बढी परेको छ । अब धान काट्ने काम दुई-चार दिनपछि धकेलिएको किसान बताउँछन् । हिउँदे धान काटेर दुई-तीन दिन निहिनमा सुकाउनुपर्ने हुँदा मौसम सफा हुन पर्खनैपर्ने बर्दिबास-९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउनुहुन्छ । अब धान काट्न हुने ढिलोले गहुँ छर्ने, आलु रोप्ने र दलहन बाली लगाउने कामलाई पनि पछि धकेल्ने चिन्ताले किसान पिरोलिएका छन् । यसै गरी धान काटेर उखु रोप्ने मन बनाएका किसान पनि छटपटिएका छन् ।

अहिलेको पानीले हिउँदे तरकारी रोप्ने, गोडमेल गर्ने र फलेका तरकारी पालोमा टिपेर बजार पुर्याउन पनि नदिने किसानको चिन्ता छ । “पानी पर्दैछ, पालोमा टिपेर बजार पुर्याउन पर्ने भण्टा, रामतोरिया, घिरौंँला, लौका र झिमनी एक दिनमै छिप्पिन्छन्, अनि ढुसी लाग्ने र कीराको आक्रमण पनि बढ्छ”, तरकारी खेतीका किसान बर्दिबास-९ पशुपतिनगरका रामविनोद महतो भन्नुहुन्छ, “यो पानी तुक (समय) को भएन ।”

खेतीपाती प्रतिकूलताकाबिच गर्नु परेको आम किसानको गुनासो छ । कहिले खडेरी, कहिले बेमौसमको वर्षा यी सबै अप्ठ्याराबिच खेतीपाती चलाउनुपरेको किसान बताउँछन् । एउटा कामको समय घर्किदा त्यसले पछिसम्म प्रभाव पार्ने गरेको किसानको अनुभव छ । अहिले जिल्लाकै मुख्यबाली मानिने धान थन्क्याउन अनुकूल समय बिग्रदा चिन्ता थपेको किसान बताउँछन् ।रासस