• १३ असोज २०८१, आइतबार

फाल्डो सिरिज गल्फ अर्को साता

blog

फाल्डो सिरिज गल्फ प्रतियोगिता बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत २२ गते । गल्फ खेलाडी उत्पादनमा महत्त्वपूर्ण मानिएको फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगिता चैत २८ देखि ३० गतेसम्म हुने भएको छ । नेपाल गल्फ सङ्घको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा ५४ होलको हुनेछ । 

नेपालमा बिचमा रोकिएको यस सिरिज सञ्चालन गर्न नेपाल गल्फ सङ्घ र फाल्डो सिरिजबिच तीन वर्षको नयाँ सम्झौता भएको सङ्घका अध्यक्ष तासी घलेले जानकारी दिनुभयो । प्रतियोगितामा छात्रतर्फ १२ देखि १६ र १७ देखि २१ वर्ष उमेर समूह तथा छात्रातर्फ खुला गरी  तीन स्पर्धा समावेश गरिएको छ ।

जसमा देशभरबाट ३० देखि ४० खेलाडीको सहभागिता रहने सङ्घले जनाएको छ । प्रत्येक समूहको विजेता खेलाडी भियतनाममा आयोजना हुने एसियाली सिरिजको फाइनल चरणका लागि छनोट हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपियाँ लगानी हुने सङ्घका महासचिव दीपक आचार्यले बताउनुभयो । 

निक फाल्डोले सन् १९९६ मा युवा गल्फर खेलाडी उत्पादन गर्ने उद्देश्यले यसको सुरुवात गर्नुभएको थियो । १२ देखि २१ वर्षसम्मका जुनियर खेलाडीको सहभागिता रहने यस प्रतियोगिता विश्वका २७ देशमा सञ्चालन हुँदै आएको छ ।