पोखरा, असार २० गते । स्याङजा जिल्लाले गण्डकी प्रदेश टी –२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ ।
प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई सात विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले एक लाख रुपियाँ हात पारेको छ । उपविजेता कास्कीले ५० हजार रुपियाँ पायो ।
५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा तीन विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा गरेको हो । स्याङजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खल्नुभयो ।
कुशुम गोदार ११ रनमा अविजित रहनुभयो । बलिङमा कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६ रनमात्रै जोडेको थियो । कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४रन बनाउनुभयो ।
अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा स्याङ्जाका अपेक्षा बुढाथोकीले सर्वाधिक चार विकेट लिनुभयो । सिमाना केसीले तीन विकेट लिनुभयो ।
स्याङजाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँ खेलको वुमन अफ दी म्याचसँगै उत्कृष्ट बलर पनि बन्नुभयो ।
कास्कीकी सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुनमगर उदियमान खेलाडी घोषितहुनुभयो । चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।