• २२ वैशाख २०८१, शनिबार

आमा हत्या प्रकरणः आरोपी छोरालाई १० दिन म्याद थप

blog

आमाको हत्या आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, चैत १९ गते । 
आमाको हत्या गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय छोरा मिलन गमाललाई ज्यान सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको छ । गमाललाई आमाको घाँटी थिची हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको थियो । घरायसी विवादका कारण स्थानीय ज्ञानी माया गमलाको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत फागुन ३० गते बिहान घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि  शिक्षण अस्पताल पठाएकोमा सोही दिन नै शव आफन्तले बुझी लगेका थिए । मृतकको शव परीक्षणका लागि फोरेन्सिक मेडिसिन विभाग त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएकोमा पोष्टमार्टम रिपोर्टमा घाँटी थिची मारेको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएपछि घटनामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी लागि परेको थियो । घटनाको थप अनुसन्धानको क्रममा खोज तथा स्थानीयसमेतको अनुसन्धानबाट मृतकको छोरा मिलन गमालले नै घरायसी विवादका कारण मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।

काठमाडौँ बस्दै आएका मिलन फागुन २९ गते काठमाडौँबाट भारतमा रोजगारीका लागि जान्छु भनी हिँडेका थिए । तर सोही दिन बेलुकी मदिरा सेवन गरी घरमा आई आमाको घाँटी थिचेर हत्या गरी भोलिपल्ट आमाको मोबाइल समेत लिई काठमाडौँ गई लुकेको प्रहरीको भनाइ छ । लुकेर बसेको अवस्थामा चैत १८ गते मिलनलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।