• ७ मंसिर २०८१, शुक्रबार

मातृसत्ता अन्त्य गरी पितृसत्ता कायम गरेको विस्का जात्रा

blog

भक्तपुरको विस्का जात्रा । तस्बिर: सुजन गुरुङ

काठमाडौं, वैशाख २ गते ।  विस्का जात्राका कारण भक्तपुर र मध्यपुर थिमि जात्रामय छ। भैरवनाथ र भद्रकालीको रथ तानेर चैत २८ गते याे जात्रा सुरु भएकाे हाे । विक्रम सम्वतकाे नयाँ वर्षको आगमन हुनुभन्दा केही दिन अघि सुरु हुने जात्रा ८ रात ९ दिनसम्म धुमधामकासाथ मनाइन्छ । संस्कृतिविद् हरिराम जोशीकाअनुसार ‘बिस्केत’ शब्द ‘विश’ र ‘केत’ शब्दको अपभ्रंश भएर बनेको हो । ‘विश’ शब्दले स्त्री–पुरुष अर्थात् सबै मानिसलाई जनाइएता पनि यो शब्द विशेषगरी स्त्रीप्रधान शब्द मानिन्छ । अर्थात् स्त्रीराज्य अन्त्य गरेर पुरुषराज्य विस्तार हुनु हो भनिन्छ । 

काठमाडौंमा इन्द्रजात्रा, पाटनमा मत्स्येन्द्र जात्राजस्तै भक्तपुरमा  विस्का जात्रा प्रसिद्ध जात्राको रूपमा लिइन्छ । यो जात्रा पहिले वर्षको अन्तिम मसान्तको दिन सुरू भएर नयाँ वर्षको प्रारम्भको दिन समाप्त हुन्थ्यो । पछि गएर भने यो जात्रा आठ दिनसम्म चल्ने परम्परा बसेको थियो, अहिले पनि प्रचलित छ । ‘नेपालमा प्रचलित प्रायः जात्राहरू चान्द्रमानअनुसारका छन्, जबकी  विस्का जात्रा सौर्यमानअनुसार मनाइन्छ’, उहाँ भन्नुहुन्छ, ‘यसरी सौर्यमानअनुसार मनाइने यो जात्राको परम्परा नेपालमा बाह्रौंं शताब्दीको समयदेखि चलेको हो ।’ वर्षको अन्तिम दिन ठड्याइएको लिङ्गोलाई नयाँ वर्षको पहिलो दिन ढालेर मनाइने परम्परामा विगतको व्यवस्थालाई समाप्त पारेर नयाँ व्यवस्था, नयाँ जोश, नयाँ उमङ्गकासाथ थालनी गरेको खुशियालीमा यो जात्रा मनाउने परम्परा भएको जोशीले बताउनुभयो ।

संस्कृतिविद जोशीकाअनुसार बिस्केत जात्राको परम्पराले एक सत्ताको अन्त्य गरेर अर्को सत्ताको उदय भएको यथार्थ प्रस्तुत गरेको छ । जस्तै-धार्मिक किंबदन्तीअनुसार आदिम नेपाल मण्डलमा हरेक रात रानीसँग सुत्नका लागि नयाँ राजा चयन गरिन्थ्यो । तर, प्रत्येक पटक चुनिएका राजाको बिहानसम्म मृत्यु भइसक्थ्यो । यसैबीच यस्ता राजा आइपुगे, जो राजाहरु रानीसँग रात बिताउँदा मर्नुपर्ने कारण पत्ता लगाउन रातभर तरवार पनि साथमा राखेर रानीको छेउमा उभिएर बसे । 

मध्यरातमा जब रानी गहिरो निद्रामा परिन्, तब उनको नाकका दुवै प्वालबाट दुई काला सर्प निस्किए, जसलाई राजाले देख्नेबित्तिकै काटिदिए । त्यसपछि हरेक रात राजा मर्नुको रहस्य रानीको नाकबाट निस्केका ती सर्पको रहस्य खुल्यो । सँधै जसरी बिहान राजाको लाश उठाउन दरबारमा मानिसहरु भेला भए । तर राजालाई जिउँदै देखेपछि सबै खुसी र अच्चमित भए । 

यसरी मृत्युलाई जित्न सफल भएका राजाले रानीको हातबाट राज्य लिन सफल भए । शासनको बागडोर स्त्रीको हातमा थियो । त्यस समय पुरुष वर्गले शासनको बागडोर स्त्रीको हातबाट खोसेर लिन अनेकौं पटक प्रयास गरे, तर प्रत्येक पटक विफल रहे । नाग स्त्री सदा विजयी भइरहिन् । बिस्केतजात्रा सम्बन्धित आख्यानमा महारानीको शरीरबाट निस्केको सर्पले दिनहूँ महारानीसित सुहागरात बिताउन आउने पुरुषलाई मार्नेगरेको तथा महारानीले सदा सुस्थिर रही शासन गर्नेगरेका घटनाहरू छन् ।


 नाग स्त्रीको हातमा सुरक्षित सम्प्रभुता पनि पुरुषको हातमा पर्न गयो । अन्त्यमा पुरुषले महारानीको शक्ति रहेको नागलाई मारे । यसरी नेपालमा मातृसत्ताको अन्त्य भई पितृसत्ताको उदय भयो । जस अर्थमा यो जात्रा (बिस्केत जात्रा) मातृसत्ताको लाशमाथि उठेको पितृसत्ताको जात्रा मानियो । बिस्केत जात्राले स्पष्ट रूपले नेपालमा मातृसत्ताको अन्त्य भएर पितृसत्ताको उदयतिर संकेत गरेको जोशीको भनाई छ । उहाँकाअनुसार किंबदन्तीमा यस्ता धेरै रहस्यहरु छन्, जुन कथामै सीमित छन् ।

हरेक रात राजा मर्थे, कसरी भन्ने कसैलाई थाहा थिएन । जसको अर्थ हो नेपाल मण्डलमा पनि मातृसत्ता थियो । आमाको नामबाट नाम आदिमकालमा अन्य हिमाली क्षेत्रमाजस्तै नेपालमा पनि मातृसत्तात्मक नाग जातिको शासन व्यवस्था रहेको जोशीको भनाई छ । ‘अहिलेको समाजमा पनि महिलाबिना पुरुषको कुनै अस्तित्व छैन’, उहाँले भन्नुभयो, ‘मातालाई सम्मान दिएर मातृभूमि भनिएको हो ।’ उहाँले थप्नुभयो, ‘त्यस समय पश्चिममा तक्षशीलादेखि पूर्व कम्बोडियासम्म नाग जातिको विस्तार थियो । 

दक्ष प्रजापतिकी छोरी तथा महर्षी कश्यपकी पत्नी ‘कद्रु’ का सन्तान हँुदा तिनीहरूलाई ‘काद्रवेय’ नाम दिइयो । यस्तै, गिद्धको अर्को नाम वैनतेय हो । वैनतेयकी आमा विनता हुन् । ‘विनता’ का सन्तानहरू ‘वैनतेय’ नामले चिनिन्थे । ‘यसरी नाग समाज मातृसत्तात्मक थियो भन्ने कुराको नेपालका चाडपर्व र तिनीहरूका नाम, पिताको नामको सट्टा आमाको नामबाट राखिने गरेकोबाट स्पष्ट हुन्छ’ जोशीले भन्नुभयो । 

यस्तै, महर्षी वेदव्यासका पुत्र हुन्, शुकदेव । शुकदेवको नाम पिता व्यासको नामबाट नभई उनकी आमा शुकीबाट राखिएको छ । आमाको नाम शुकी हुँदा पिता व्यास नभई आमाको नामबाट ‘शुकदेव’ राखिएको थियो । भगवान् बुद्धका दायाँ हात मानिएका शिष्य शारिपुत्तको नाम नै तिनकी आमा शारिकाको नामबाट राखिएको थियो । यी आधारहरूले आदिमकालमा नाग एवं अन्य जनजातिहरू मातृसत्तात्मक थिए भन्ने कुराको झल्को दिलाउनेगरेको जोशीको बुझाई छ । 

कुमाऊँ, गढवालस्थित हिमाली क्षेत्रलाई स्त्री राज्यको रूपमा लिने गरेको जोशीले बताउनुभयो । यहाँ युगौंदेखि स्त्रीहरू नै शासक हुँदैआएका छन् । शासक स्त्रीका पतिलाई राजा भनिए पनि तिनलाई शासनको कुनै अधिकार नभएको जोशीले बताउनुभयो । यस्तै, वर्षको अन्तिम मासको मसान्तमा भक्तपुरको चुप्रिङ्गघाटमा लिङ्गो ठड्याई त्यसको भोलीपल्ट त्यसलाई ढालेर यो जात्रा धुमधामसँग मनाइन्छ । 

यो जात्रा हेर्न तीनै शहरका मानिसको ठूलो भीड ‘योसी कोथलीगु स्वेगु’ (लिङ्गो ढाल्ने हेर्ने) भनी भक्तपुर चुप्रिङ्गघाटमा भेला हुन्छन् । ललितपुरको लगनखेलमा देवता मत्स्येन्द्रनाथ नुहाउने दिन बेलुका मत्स्येन्द्रनाथलाई त्यँहाबाट पुनः तःबहालस्थित मन्दिर लैजाँदा सुताएर लैजाने गरिन्छ, जसलाई हेर्नु हुँदैन भन्ने गर्थे, अद्यापि छ । तर बिस्केत जात्रा ध्वजलाई ढालेर नै मनाइने हुँदा पितृसत्ताको उदय पूर्वको मातृसत्ताको प्रतीकका रूपमा यो ध्वज थियो । जसलाई ढालेर मानिसहरूले खुशियालीमा जात्रा मनाउन शुरु गरेका हुन् ।