सुलीकोट समाचारदाता
सुलीकोट, चैत १७ गते । गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा सुप्रसिद्ध बौद्धिक थलोका रूपमा प्रख्यात गोरखा सदरमुकामबाट झन्डै दुई किलोमिरटरको दुरीमा पर्ने कट्टेल चोकदेखि कट्टेलडाँडासम्म सडक कालोपत्रे हुने भएको छ ।
गोरखा नगरपालिका–८ स्थित कट्टेलडाँडाका स्थानीय तथा पूर्वनगर प्रमुख विशेश्वर कट्टेलले धेरै समयको प्रयासपछि अहिले कालोपत्रे हुन लागेको बताउनुभयो । गोरखा नगरपालिकाको विशेष पहलमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट अन्तर्गत पूर्वाधार कार्यालय गोरखा मार्फत कालोपत्रे गर्न लागिएको हो ।
पूर्वाधार कार्यालय गोरखाका निर्मित प्रमुख गणेश सुवेदीले सडक कालोपत्रे योजनाका लागि कृषल एवन जेबी कम्पनीसँग २०८० साल वैशाख ११ गते सम्झौता भएर काम अघि बढेको जानकारी दिनुभयो । २०८१ साल वैशाख ११ गते सम्पन्न गर्नुपर्ने कालोपत्रे सडकको काम समयसीमाभन्दा पहिला नै सम्पन्न हुने गरी निर्माण कम्पनीले लगभग अन्तिम चरणमा पु¥याएको उहाँको भनाइ छ ।
कट्टेल चोकदेखि कट्टेलडाँडासम्म ऐतिहासिक महत्व राख्ने भएकाले यस सडकलाई कालोपत्रे गर्न गोरखा नगरपालिकाले विशेष चासो राखेर बजेट माग गरिएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यो सडकले नजिकै रहेको सहिद लखन गाउँपालिकामा जान कट्टेलडाँडाबाट असाध्यै नजिक भएकाले पनि सदरमुकाम र सहिद लखन गाउँपालिका जोड्ने कडीका रूपमा यस कालोपत्रे सडकले महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो ।