सलिम मियाँ
बिजुवार, मंसिर १३ गते । प्युठान गौमुखी गाउँपालिकाको अर्खा र रजवारा गाउँलाई जोड्ने जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुलको शिलान्यास भएको छ ।
संघीय सांसद तथा नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य सूर्य थापाले ३ सय ६५ मिटर लामो र १ सय ८० मिटर अग्लो झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको हो । पुलको शिलन्यास गर्दै साँसद थापाले जिल्लाकै लामो र अग्लो आयोजनाको रुपमा रहेको यस झोलुङ्गे पुललाई समयमै गुणस्तरीय तवरले सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
दुई करोड ७२ लाख ७४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको यो आयोजना २०८२ मंसिरसम्म पूरा हुने जनाइएको छ । २०८१ जेठमा सम्झौता भएको यो पुल निर्माण गर्न अधिकारी अपर तामाकोसी जेभीले ठेक्का पाएको सस्पेन्सन बृज डिभिजन पुलचोक ललितपुरले जानकारी दिएको छ ।
यो पुलको निर्माण सम्पन्न हुँदा गाउँका सर्वसाधारणलाई आवत जावत गर्न सहज हुने र पर्यटन प्रबर्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।