गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १४ गते । तीन साङ्गीतिक ब्यान्ड ‘कुमा सागर एन्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एन्ड दी कम्पनी’ ले एकसाथ नेपाल टुर गर्ने भएका छन् । ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको नेपाल टुर झापाबाट सुरु हुने छ । नेपाल टुरको प्रमुख आयोजक र व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पिभिई नेटवर्क) हो । झिल्के एन्ड दी कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार नेपाल टुर डिसेम्बर २१ बाट सुरु भई फेब्रुअरी ७ मा समापन हुने छ ।
ब्यान्डले डिसेम्बरमा पहिलो चरणमा झापा, रुपन्देही र काठमाडौँमा तथा दोस्रो चरण २०२५ मा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा कार्यक्रम गर्ने छ । “हामीले कार्यक्रमको नारा ‘लेट्स गेट लाउड नेपाल’ राखेका छौँ तर झापामा कार्यक्रम गर्दा ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाइड झापा’ हुने छ,” स्टिभले भन्नुभयो । ब्यान्डले प्रत्येक जिल्लामा हुने कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थिति हुने आशा राखेको छ ।