• १५ वैशाख २०८१, शनिबार

विदेशमा थ्रिडी, नेपालमा टुडी चलचित्र

blog

काठमाडौँ, चैत १६ गते । हलिउडमा मूलधारका चलचित्र थ्रिडीमा निर्माण हुने गरेका छन् तर बलिउड र कलिउडमा भने अझै निर्देशक/निर्माताले थ्रिडी चलचित्र निर्माणमा खासै आँट गर्न सकेको देखिँदैन । बलिउडमा छोटा चेतन, हन्टेड, रावन, डन २ जस्ता चलचित्र थ्रिडीमा बने तर खासै चर्चा बटुल्न भने सकेन । नेपाली चलचित्र पनि थ्रिडीमा खासै चलचित्र निर्माण भएका छैनन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘भिजिलान्ते’ थ्रिडीमा निर्माण भएको एक मात्र चलचित्र हो तर सो पनि चलचित्रले खासै सफलता हात पार्न सकेन । 

निर्देशक खनालले नेपालमा थ्रिडी प्रविधि भित्र्याउने सुरु त गर्नुभयो तर सफल हुन सक्नुभएन । उहाँले भन्नुभयो, “नेपालमा थ्रिडी चलचित्र बनेको छैन भनेरै त्यसमा काम गरे जसका लागि जापानबाट क्यामरा मगाएँ । थ्रिडी प्रविधि मुख्य रूपमा क्यामरा र पोस्ट प्रोडक्सनकै काम बढी खर्चिलो हुने उहाँले बताउनुभयो । चलचित्र प्राविधिक रूपमा सफल भए पनि व्यावसायिक सफलता पाउन नसकेको उहाँको भनाइ छ ।” 

अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । प्रदर्शक तथा नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएकाले नयाँ बनेका हलमा अब थ्रिडी चलचित्र पनि चलाउन सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सानो क्षमताका भए पनि आधुनिक प्रविधि र सुविधासम्पन्न चलचित्र भवन गाउँसम्म पुगेका छन्, पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रूपान्तरण भएका छन् ।” 

उहाँले नेपालमा थ्रिडी चलचित्र हेर्न पाइने भए पनि विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिनुभयो । आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन अझै समय लाग्ने उहाँको भनाइ छ । अहिले थ्रिडी चलचित्रभन्दा अन्य चलचित्रको बजार राम्रो रहेको महर्जन बताउनुहुन्छ । 

थ्रिडी चलचित्र हेर्ने धेरै युवा पुस्ताले रुचाउने गरेको बिग सिनेमाज्का प्रकाश पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीभन्दा पनि विदेशी चलचित्र धेरै थ्रिडीमा प्रदर्शन हुने गरेका छन् र निर्माण लागत पनि बढी लाग्ने  गरेको छ । कुनै बेला थ्रिडी चलचित्र हेर्नेको भिड राम्रै हुन्थ्यो भने अहिले समय बदलिएको छ । अहिले टुडीमै रमाउने धेरै छन् ।’’