• १५ वैशाख २०८१, शनिबार

स्वदेशी पाँच वस्तुको निर्यात उच्च

blog

काठमाडौँ, चैत १३ गते । मुलुकमा उत्पादन हुने मुख्य पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । 

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा जुस, प्लाइउड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिङ्कर, अदुवा रहेका छन् । 

मुलुकबाट आयात निर्यात दुवै घटिरहेका बेला ती वस्तुको निर्यातमा भने उलेख्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा पाँच वस्तुको माग उच्च रहेकाले पनि निर्यातमा वृद्धि भएको हो । केन्द्रको तथ्याङ्क अनुसार आठ महिनामा ती वस्तुको निर्यात २५ अर्ब ४१ करोड ६१ लाख रुपियाँ बराबरको भएको तथ्याङ्कले देखाएको छ । मुलुकबाट अन्य वस्तुको निर्यात घटिरहेको बेला पाँच वस्तुको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ । 

केन्द्रको तथ्याङ्क अनुसार आठ महिनामा नेपालबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन ७४ प्रतिशतले बढेर ११ अर्ब ६३ करोड ९२ लाख रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्षको सो अवधिमा आइरन तथा स्टिलको निर्यात छ अर्ब ६७ करोड ३० लाख रुपियाँ बराबरको भएको थियो । 

यस्तै आठ महिनामा मुलुकबाट प्लाइउडको निर्यात ९१ प्रतिशतले बढेर चार अर्ब ९३ करोड ९८ लाख ४८ हजार रुपियाँ बराबरको आयात भएको छ । 

गत वर्ष सो अवधिमा दुई अर्ब ५८ करोड १६ लाख रुपियाँ बराबरको निर्यात भएको छ । प्लाइउड छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ । भारतमा प्लाइउडको माग उच्च भएकाले निर्यातमा समेत उल्लेख्य वृद्धि भएको हो । नेपालको प्लाइउड उच्च गुणस्तरको हुने भएकाले नि भारतमा बढी आउने गरेको व्यवसायीको भनाइ छ । 

यस्तै मुलुकबाट जुस निर्यात ३९ प्रतिशतले बढेर पाँच अर्ब ३३ करोड ४१ लाख रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ८२ करोड रुपियाँको जुस निर्यात भएको थियो । 

यस्तै आठ महिनामा दुई अर्ब ४७ करोड १७ लाख रुपियाँ बराबरको क्लिङ्कर तथा सिमेन्ट निर्यात भएको छ । गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपियाँको समेन्ट र क्लिङ्कर निर्यात भएको थियो । मुलुकबाट अदुवाको निर्यात ३९ प्रतिशतले बढेर एक अर्ब ३२ करोड २१ लाख रुपियाँ बराबरको भएको छ । गत वर्ष सो अवधिमा ७३ करोड ७७ लाख रुपियाँ बराबरको निर्यात भएको थियो । नेपालबाट निर्यात हुने अधिकांश सामानहरू छिमेकी मुलुक भारतबाट निर्यात हुने गर्छन् । नेपालमा आयात हुने अधिकांश सामान भारतबाट आयात हुने गर्छन् । 

मुलुकबाट आठ महिनामा कुकुर र बिरालोको आहारमा छुर्पीलगायतको निर्यातमा समेत वृद्धि भएको छ । यस्तै तयारी गार्मेन्टको, चाउचाउ र पास्ताको निर्यातमा समेत सामान्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ । यस्तै दालको निर्यातमा समेत वृद्धि भएको छ । मुलुकमा उत्पादन हुने अन्य वस्तुहरूको निर्यातमा भने कमी आएको छ । 

यस्तै स्वदेशी उत्पादन अलैँची र चियाको निर्यातमा समेत सामान्य कमी आएको छ । आठ महिनामा अलैँचीको निर्यात ११ प्रतिशतले घटेर पाँच अर्ब १७ करोड ४५ लाख ७० हजार रुपियाँ बराबरको निर्यात भएको छ । यस्तै चियाको निर्यातसमेत ११ प्रतिशतले घटेर दुई अर्ब ४६ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग घटेकाले अलैँची र चियाको निर्यातमा गिरावट आएको हो । चालु आवको सुरुवातदेखि निर्यात बढ्दै गएकोमा पछिल्लो समयमा आएर अलैँचीको निर्यातमा कमी आएको छ । आठ महिनामा स्वदेशी वस्तुको कुल निर्यात चार प्रतिशतले घटेर एक खर्ब ६१ करोड रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा एक खर्ब चार अर्ब रुपियाँको निर्यात भएको थियो ।