• ७ जेठ २०८१, सोमबार

दोहो-याउन दाउमा पालिका प्रमुख

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १ गते ।  दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको गुल्मी जिल्लामा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको चहलपहल निकै बढेको छ । स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्ममा को बन्ने भनेर उम्मेदवारको चर्चा भइरहेको छ । 

स्थानीय तहमा भएका हालका प्रमुखले अधिकांशमा दोहोरिने इच्छा व्यक्त गर्नुभएको पाइएको छ । कुनै स्थानीय तहका प्रमुखले पार्टीको निर्णयलाई कुरेर बसेको बताउनुभएको छ ।  १२ वटा स्थानीय तह रहेको यस जिल्लाका पाँच स्थानीय तहका प्रमुख भने नदोहोरिने हुनुभएको छ । “हामीले पाँच वर्ष जनताको सेवा ग¥यौँ । जनताको सेवा गर्ने अवसर अरू साथीहरूलाई पनि प्रदान गर्नुपर्छ,” उहाँहरूले भन्नुभयो, “सधैँ एउटै पदमा बस्नु राम्रो होइन । अरू साथीलाई पनि त्यो पदमा जानका लागि हामीले  प्रेरित गनुपर्छ ।”

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष नीलकण्ठ गौतमले आफू पालिका अध्यक्षमा नदोहोरिने बताउनुभयो । “हामी आफैँले एउटा परम्परा बसाल्नुपर्छ । सधैँ एउटै मान्छे पदमा बस्नु राम्रो होइन,” उहाँले भन्नुभयो, “मैले पाँच वर्ष जनताको सेवा गरेँ । अब जनताको सेवा गर्न अरू साथीलाई अगाडि सार्ने हो ।” 

रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले पनि आफू नदोहोरिने बताउनुभयो । “जनताले मलाई पाँच वर्षका लागि पठाउनुभएको हो,” उहाँले भन्नुभयो, “मैले जनताले पठाएअनुसार जनताको चाहनालाई बुझेर काम पनि गरेँ । त्यो कामप्रति म सन्तुष्ट छु । पदमा दोहोरिन हुँदैन भन्ने मान्यता राख्छु । अरूलाई पनि अवसर प्रदान गर्नुपर्छ ।” मुसीकोट नगरपालिका मेयर सोमनाथ सापकोटाले आफू नदोहोरिएर पार्टीभित्रको अर्को साथीलाई सहयोग गर्ने बताउनुभयो । आफूले नगरपालिकाको प्रमुख भएर पाँच वर्ष जनताको सेवा गरेकाले अब अर्को साथीलाई बनाउनुपर्ने उहाँले बताउनुभयो । 

त्यस्तै छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त र मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी पनि पालिका अध्यक्षमा नदोहोरिने हुनुभएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले अध्यक्ष पदमा पुनः दोहोरिने इच्छा राख्नुभएको छ । 

पाँच वर्षको समयावधिमा पूरा हुन नसकेका कामलाई पूरा गर्ने भन्दै उहाँले भन्नुभयो, “देशकै एउटा नमुना र उत्कृष्ट गाउँपालिका बनाउन निरन्तर लाग्नेछु ।” भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, सुशासन, विपत् व्यवस्थापनलगायतका कुरामा उत्कृष्ट गाउँपालिका बनाउन लाग्ने उहाँले बताउनुभयो । 

गुल्मीदरबार गाउँपालिकाका कार्यबाहक अध्यक्ष मीना भण्डारीले पनि अध्यक्ष पदमा पार्टीभित्र दाबी गर्नुभएको छ । उहाँले पाँच वर्षको समयावधिमा गर्नुपर्ने सबै काम गरेको बताउनुभयो । “अब हामीले विभिन्न अध्ययन अवलोकन गरेर ठूला–ठूला विकास निर्माणका काम गर्नुपर्छ,” उहाँले भन्नुभयो, ‘साना–साना काम गरिसकेका छौँ । गाउँपालिकाभित्र अहिलेभन्दा फरक तरिकाले काम गनुपर्ने भएको छ ।”

त्यस्तै जिल्लाका पाँच स्थानीय तहका प्रमुखले आफू दोहोरिने वा नदोहोरिने भन्ने कुरामा पार्टीको निर्णयमा भर पर्ने बताउनुभएको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा, सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल र चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि पार्टीको निर्णयलाई मान्नुपर्ने बताउनुभयो । त्यस्तै मालिका गाउँपालिका अध्यक्ष रीतबहादुर थापाले व्यक्ति इच्छाभन्दा पनि पार्टीको निर्णय महत्वपूर्ण भएको हुनाले पार्टीले जे निर्देशन दिन्छ त्यही गर्ने बताउनुभयो । 

पार्टीले जिम्मेवारी दिएमा त्यो जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै उहाँले भन्नुभयो, “पार्टीले अर्को व्यक्तिलाई अगाडि सारेमा पनि आफू खुलेर जिताउनेतर्फ लाग्नेछु ।” 

इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट पनि आफ्नो दाबीभन्दा पनि पार्टीले जे निर्णय गर्छ, त्यो मान्न तयार रहेको बताउनुभयो ।