दमक समाचारदाता
दमक, चैत ९ गते । सीमा क्षेत्रमा रहेका स्थानीयको समस्याको विषयमा जानकारी लिन र सीमासम्बन्धी समस्या समाधानका लागि झापा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले झापामा सीमा पैदलयात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणा अन्तर्गत नेपाल–भारत सीमा इलाका र सीमास्तम्भहरूको अनुगमनसहितको कार्यक्रम बुधबारबाट सुरु भएको हो ।
नेपालको पूर्वी क्षेत्र मेचीनगर नगरपालिकामा पर्ने नेपाल–भारत सीमाको सीमास्तम्भ नं. ९१/१ बाट सुरु सीमा पैदलयात्रामा, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीसहित जनप्रतिनिधिहरू सहभागी रहनुभएको थियो ।
कोशी प्रदेशमा सबैभन्दा धेरै दुरी सीमा क्षेत्र झापामा पर्दछ । बुधबारबाट सुरु भएको पैदलयात्रा यही महिनाभित्र पूरा गरिने जनाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राईका अनुसार नेपाल–भारत सीमा क्षेत्रलाई चार भागमा विभाजन गरी चैत महिनाभित्र अनुगमन अन्तव्रिर्mया सम्पन्न गर्ने योजना रहेको छ ।
कोशी प्रदेशभर भारतसँगको ४३० किलोमिटर लामो खुला सिमाना रहेको बताइएको छ । योमध्ये झापा जिल्लामा मात्र मेचीनगरदेखि गौरीगञ्जसम्मको १४४ किलोमिटर लामो खुला सीमा रहेको छ । लागुऔषध ओसारपसार र चोरी तस्करी नियन्त्रणका लागि पनि यो अभियान प्रभावकारी बन्ने प्रहरीको भनाइ छ ।
अभियानमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतका जनप्रतिनिधि पनि सहभागी बन्नुभएको छ । केही दिनअघि सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबिच झडप हुँदा तनाव उत्पन्न भएको थियो । छ स्थानीयसहित एक प्रहरी गम्भीर घाइते बन्नुभएको थियो । मेचीनगर नगरपालिकामा नै यो घटना भएको थियो । सशस्त्र प्रहरीले यहीँबाट नै आफ्नो अभियान सुरु गरेको हो ।