• ७ मंसिर २०८१, शुक्रबार

असुरक्षित सडक यात्रा : वार्षिक दुई हजार बढीले गुमाउँदै ज्यान

blog

काठमाडौं, चैत ८ गते । गत चैत ५ गते साँझ बागलुङदेखि काठमाडौँ आउँदैगरेको बस निसिखोलामा दुर्घटना हुँदा नौ जनाको ज्यान गयो । २६ जना घाइते भए । गत फागुन ३ गते कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको ज्यान गयो । ३० जना घाइते भए । 

यस्तै, फागुन २३ गते धादिङको गजुरी–२ चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठ जनाको मृत्युभयो । आठ जना घाइते भए । दुर्घटनाका यी कहालीलाग्दो पछिल्ला उदाहरण मात्र हुन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो साढे पाँच वर्षमा १५ हजारको ज्यान गएको छ । सो अवधिमा एक लाख १३ हजार ८०० सवारी दुर्घटनामा परेका छन् ।

पछिल्लो साढे पाँच वर्षको तथ्याङ्कअनुसार ८८ हजार ५२६ मोटरसाइकल दुर्घटना भएका छन् । 

प्रहरीको तथ्याङ्कले नेपालमा सडक यात्राको सुरक्षामा प्रश्नचिन्ह खडा गरेको छ । बर्सेनि दुई हजार बढीले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । प्रहरीको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म एक हजार ५४७ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ । यो अवधिमा २४ हजार ६६८ सवारी दुर्घटनामा परेका छन् । 

गत आर्थिक वर्ष २०७९–८० मा सवारी दुर्घटनामा परी दुई हजार ३६८ जनाको मृत्यु भएको तथ्याङ्क छ । सो अवधिमा ३७ हजार ३९२ सवारी दुर्घटनामा परेका थिए । आर्थिक वर्ष २०७५–७६ मा सवारी दुर्घटनामा परी दुई हजार ७८९ को मृत्यु भएको थियो । सो अवधिमा १३ हजार ३६६ सवारी दुर्घटनामा परेका थिए । 

आर्थिक वर्ष २०७६–७७ मा सवारी दुर्घटनामा परी दुई हजार २५१ को मृत्यु भएको थियो । सो अवधिमा १५ हजार ५५४ सवारी दुर्घटनामा परेका थिए ।आर्थिक वर्ष  २०७७–७८ मा सवारी  दुर्घटनामा परी दुई हजार ५०० को मृत्यु भएको थियो । सो अवधिमा २० हजार ६४० सवारी दुर्घटनामा परेका थिए । 

आर्थिक वर्ष २०७८–७९ मा सवारी दुर्घटनामा परी दुई हजार ८८३ जनाको मृत्यु भएको थियो । सो अवधिमा ३९ हजार ३८९ सवारी दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । 

मोटरसाइकल बढी दुर्घटना

नेपाल प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना हुने सवारीमा मोटरसाइकल रहेको छ  । पछिल्लो साढे पाँच वर्षको तथ्याङ्कअनुसार ८८ हजार ५२६ मोटरसाइकल दुर्घटना भएका छन् । 

त्यसपछि बढी दुर्घटना हुनेमा यात्रुवाहक बस रहेको छ । पछिल्लो साढे पाँच वर्षमा १४ हजार १६४ बस दुर्घटना भएका छन् । त्यसपछि जिप, कार, ट्रक, ट्याङ्कर, ट्राक्टर, ट्रिपर र ट्याम्पो रहेका छन् । 

अङ्गभङ्ग हुने धेरै 

सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढिरहँदा दुर्घटनामा परी अङ्गभङ्ग हुनेको सङ्ख्या पनि बढी नै छ । प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो साढे पाँच वर्षमा ३२ हजार १०२ जना गम्भीर घाइते भएका छन् भने एक लाख १२ हजार बढी सामान्य घाइते भएका छन् । यी घाइतेहरू कुनै न कुनै अङ्गमा असर परेकाहरू छन् । 

तालिम आवश्यक

पूर्व सचिव देवेन्द्र कार्कीका अनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको छ । तर चालकको लापरबाही देखाएर सरकारी संयन्त्र उम्कन भने नमिल्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सवारी दुर्घटनाको मुख्य कारण नै चालकको लापरबाही हो । तर, चालकको लापरबाही भन्दै सरकारी संयन्त्र उम्कन मिल्दैन ।”

चालकको लापरबाही भन्दै सरकारी संयन्त्र उम्कन मिल्दैन ।

कतिपय दुर्घटनाहरू सडकको अवस्था, पुराना गाडी, ओभरलोड र सडकको गलत डिजाइनका कारण हुनेगरेको उहाँले बताउनुभयो । मुख्य कारण चालकको लापरबाही नै भएका कारण चालकलाई बेला–बेलामा सचेतना दिनु आवश्यक रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “चालकलाई बेला–बेलामा सचेतना दिनु आवश्यक छ । चालकको व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक छ । उनीहरूले घरमा जे सिके त्यही मात्र सिक्ने हो, उनीहरूलाई थप जिम्मेवार बनाउनु आवश्यक छ ।” चालकको स्वभावमा परिवर्तन गराउन सकेमात्र दुर्घटना कम हुने उहाँको तर्क छ । 

सार्वजनिक सवारीसम्बन्धी भएका ऐन, कानुन पनि पुराना भएका कारण यसमा समयानुकूल परिवर्तनको खाँचो रहेको उहाँले बताउनुभयो । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीमा पनि सुधार गर्नुपर्ने उहाँको भनाइ छ । 

छैनन् दुई चालक 

लामो दूरीमा चल्ने सवारीले अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने भए पनि त्यसो भएको पाइँदैन । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु सामान्यतया १०० किलोमिटर सडक यात्राका लागि दुईजना चालक राख्नुपर्ने भए पनि अहिले कार्यान्वयन भएको नपाइएको बताउनुभयो । 

विभागका प्रवक्ता पनेरुले अधिकांश दुर्घटनाहरू चालकको लापरबाहीका कारण हुनेगरेको बताउनुभयो । 

विभागका प्रवक्ता पनेरुले अधिकांश दुर्घटनाहरू चालकको लापरबाहीका कारण हुनेगरेको बताउनुभयो । भौगोलिक परिवेशका कारण यो कार्यान्वयनमा नआएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सामान्यतया १०० किलोमिटरभन्दा बढीको दूरीमा चल्ने सवारीका लागि दुई जना चालक राख्नुपर्ने हो, भौगोलिक परिवेशका कारण यो कार्यान्वयनमा नआएको हो ।” सडकको अवस्था परीक्षण गरेर मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्नुपर्ने उहाँको सुझाव छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।