गोरखापत्र अनलाइन
काठमाडौं, चैत ८ गते । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेको पीडामा निहुँ खोजेर कांग्रेसले संसद् अवरुद्ध गरिरहेको उहाँको टिप्पणी छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुसी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रूपमा उपयोग गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको ‘समृद्ध नेपाल: सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्न चाहेको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘डेमोक्रेसी किन चाहियो भन्दा यी कुराहरूका लागि चाहियो । संसदमा सरकारबाट हट्नुपर्छ भनेर निहुँ खोजेर संसद् अवरुद्ध गर्ने, च्याँठिने, आक्रोश पोख्ने, छाती पिटेर रुने ठाउँ होइन । हामीले समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानताका लागि, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि राजनीति गर्नुपर्छ ।’
समृद्ध नेपाल: सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्र होइन, सुरक्षा र सम्मान पनि जोडिएको छ उहाँले भन्नुभयो, “असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ । त्यसकारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ ।” संसद् बैठक प्रभावितभन्दा पनि चलायमान बनाएर जनताको पक्षमा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखी राजनीतिक गतिविधिलाई अघि बढाउनु पर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो ।