• १८ असार २०८२, बुधबार

एसइई दिने चेपाङ विद्यार्थी वृद्धि हुँदै

blog

चितवन समाचारदाता

चितवन, चैत ८ गते  । चितवनको इच्छाकामना गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङबाट २२ जना चेपाङ विद्यार्थीले यस वर्षको एसइई दिँदै छन् । 

चेपाङ समुदायको बाक्लो बस्ती रहेको यस क्षेत्रमा छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेतनाको विकासपछि अहिले पढ्न आउनेको सङ्ख्या वृद्धि भएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिनुभयो । यस वर्ष २३ जनाले एसइई दिने छन् भने २२ जना चेपाङ समुदायका रहेकामा तीमध्ये २० जना छात्रा छन् । एक जना अन्य जातिका गिरी रहेका छन् । 

शिक्षाप्रतिको चेतनाको विकास भएपछि अहिले चेपाङ समुदायले पढाउन पठाउने गरेको विद्यालयले जानकारी दिएको छ । अझ विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या धेरै रहेको प्रधानाध्यापक मगरले जानकारी दिनुभयो । चेपाङ समुदायका बालबालिकाले विद्यालय तह पूरा नगरी बिचैमा छाड्ने गरेकामा अहिले त्यो अवस्था घट्दै गएको उहाँले बताउनुभयो । गाउँघरमा रहेको विद्यालयमा अध्ययन गर्न आउने भए पनि एसइईपछि उच्च शिक्षा अध्ययन गर्न बाहिर गएर पढ्नका लागि अझै समस्या भएको उहाँले बताउनुभयो । 

यस वर्ष परीक्षा दिनेमध्ये तीन जना छात्राको आर्थिक अवस्था ज्यादै नाजुक भएपछि परीक्षा केन्द्रमा गएर डेरामा बसी एसइई दिन खर्चको व्यवस्थापन विद्यालयले गर्ने तयारी गरेको प्रधानाध्यापक मगरले बताउनुभयो । 

इच्छाकामना गाउँपालिकाको परीक्षा केन्द्र कुरिनटारको सर्वशान्ति माध्यमिक विद्यालयमा रहेको छ । पालिकाको पहाडी क्षेत्रमा पर्ने विद्यालयका विद्यार्थी कुरिनटारमा डेरामा बसेर परीक्षा दिने गर्छन् ।  

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिकाको शक्तिखोरलगायतबाट ३५१ जना चेपाङ विद्यार्थी सहभागी हुने बताउनुभयो । चितवनबाट यो वर्षको एसइई पाँच हजार ४२८ छात्रासहित १० हजार ९१६ विद्यार्थीले दिँदै छन् । जिल्लामा ४२ वटा केन्द्र रहेका छन् ।