• १६ वैशाख २०८१, आइतबार

चलचित्र चलाउने तरिका ‘विशेष प्रदर्शनी’

blog

काठमाडौँ, चैत ८ गते । आफ्नो चलचित्र हेरेर समीक्षक तथा कलाकारबाट सकारात्मक कुरा आओस् भन्ने चाहना धेरै निर्देशक/निर्माताको हुन्छ । त्यसमाथि चलचित्र क्षेत्रमा आफूले गरेको कामको सही मूल्याङ्कन समीक्षक वा  चलचित्रकर्मीहरूबाट होस् भनेर चलचित्र प्रदर्शन हुने केही दिनअघि या अघिल्लो दिन विशेष प्रदर्शनी अर्थात् ‘प्रिमियर सो’ गर्ने चलन छ । यही चलन अहिले नेपाली चलचित्र क्षेत्रमा पनि निकै देखिन थालेको छ । हलिउड र बलिउडबाट सुरु भएको यो चलन नेपाली चलचित्र क्षेत्रमा पुरानो भने होइन । चलचित्रको प्रदर्शन अगावै विशेष प्रदर्शनी त गरिन्छ तर यो किन र कसका लागि गरिन्छ भन्ने कुरा अझै पनि कसैको चासोको विषय बनेको छैन । मल्टिप्लेक्स हलमा महँगो दरमा हल भाडा तिरेर साथै रेड कार्पेट ओच्छाएर चलचित्रको प्रदर्शनी गरिन्छ तर यसले कसलाई फाइदा पु¥याउँछ भन्ने अन्योल अझै कायम छ । 

“चलचित्रको विशेष प्रदर्शनी गर्नु भनेको यसको प्रचारप्रसार मात्र हो,” निर्देशक ज्ञानेन्द्र देउजा भन्नुहुन्छ । “यी सबै बाहिर बजारमा चलचित्रले राम्रो प्रचार पाओस् भनेर पनि गर्ने हो,” उहाँले भन्नुभयो, “एकदेखि ढेड लाख खर्च गरेर प्रदर्शनी त गर्छन् तर त्यही प्रदर्शनी हेर्नेहरू भित्र चलचित्रको वाहवाही गर्छन् भने बाहिर छि छि भन्न चुक्दैनन् । चलचित्रको विशेष सो देखाउँदा प्रायः ले चलचित्र नराम्रो भन्दैनन् र उनीहरूले आफ्नो सामाजिक सञ्जालमा पनि प्रचार गरिदिन्छन् । यसले चलचित्रलाई माथि उठाउने काम नै गर्छ ।” 

पछिल्ला केही वर्ष यता चलचित्रको विशेष प्रदर्शनी गरेर मात्र प्रदर्शनमा ल्याउन थालिएको छ । चलचित्र निर्माण गर्नेले विशेष प्रदर्शनी गर्नु पर्छ भन्ने त बुझे तर यो किन र कसका लागि भन्ने नबुझेको चलचित्रकर्मीहरूको गुनासो छ । 

चलचित्रको विशेष प्रदर्शनी सही अर्थमा भन्ने हो भने पत्रकार र समीक्षकका लागि हो तर जसका लागि प्रदर्शनी गरिन्छ सोही व्यक्ति नै यहाँ बेवास्ताको पात्र बनेका छन् । चलचित्र निर्माताले सधैँ आफ्नो चलचित्रलाई कसरी प्रदर्शन गर्दा बढीभन्दा बढी फाइदा पाउन सकिन्छ भनेर मात्र सोचेका हुन्छन् । यद्यपि चलचित्र चलाउनु पनि धेरै कुराको सिप, कला र ज्ञानको आवश्यक्ता हुनु पर्दछ । आफ्नो चलचित्रको प्रचार राम्रो होस् भन्ने हेतुले निर्देशक/निर्माताले चलचित्रको विशेष सो गर्नुलाई पनि एउटा प्रचार गर्ने माध्यम बनाएका छन् ।  विश्वव्यापी रूपमा नै चलचित्रको विशेष प्रदर्शनी गर्ने चलन रहेकाले यसले नेपालमा पनि राम्रो बजार लिइरहेको कलाकार दीपकराज गिरी बताउनुहुन्छ । यसलाई प्रचारको फन्डाभन्दा पनि चलचित्र बनाइसेकपछि आफ्नो चलचित्र कस्तो बन्यो भन्ने धारणा बुफ्न गरिने माध्यम भन्न सकिने गिरीको भनाइ छ । चलचित्र विशेष प्रदर्शनी अगावै निर्माण पक्षले हलमा कति मानिस पुग्छन्, पाहुना अट्ने क्षमता छ या छैन भन्ने बुझ्न भने जरुरी भएको उहाँले बताउनुभयो ।   

आफ्नो चलचित्रबारे विशेष प्रदर्शनीमा आमन्त्रित दर्शक र चलचित्र क्षेत्रका दिग्गजबाट राम्रो धारणाको आशा राख्नु राम्रो कुरा हो तर विशेष सो कसका लागि देखाइँदै छ भन्ने पनि ठुलो कुरा हो । चलचित्रको विशेष प्रदर्शनी विशेष गरी पत्रकारका लागि महìवपूर्ण मानिन्छ । किनकी, पत्रकारले चलचित्रको बारेमा सन्देश आमदर्शकमा प्रवाह गरेपछि त्यसले प्रभाव पार्छ तर यहाँ गरिने विशेष प्रदर्शनीमा पत्रकार कम कलाकार धेरै देखिन थालेका छन् ।